वालिङ ५ द्धारा वडाभित्रका १८० ज्येष्ठ नागरिकलाई सम्मान तथा परिचय पत्र वितरण

वालिङ, १ माघ :
स्याङ्जाको वालिङ वडा नं. ५ ले वडाभित्रका १८० ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजका साझा सम्पत्तिकारुपमा रहनुभएका ज्येष्ठ नागरिकहरुको हेरचाह, सुबिधा र समाजमा ज्येष्ठ नागरिकप्रति सकारात्मक सन्देश दिनकालागि सम्मान गरिएको वडा अध्यक्ष ढाकाराम पंगेनीले बताउनुभयो । “ज्येष्ठ नागरिकलाई गरिने श्रद्धा, सम्मान तथा आदरपूर्ण ब्यवहार आजको आवश्यकता हो” वडा अध्यक्ष पंगेनीले भन्नुभयो, “आजका युवा भोलि बृद्धावस्थामा पुग्नुपर्ने प्राकृतिक नियम भएकाले आज ज्येष्ठ नागरिकप्रति सम्मानपूर्ण ब्यवहार गर्न सके भोलि आफ्नै लागि पनि लाभदायक हुने विश्वासकासाथ वडामार्फत सम्मान गरिएको हो ।”
वडाको तथ्याङ्कमा ७० वर्षभन्दा माथिको उमेर समूहका २३२ जना रहेकामध्ये १८० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष ढाकाराम पंगेनीले बताउनुभयो । वडाभित्रका केही ज्येष्ठ नागरिकहरु विभिन्न शहरहरुमा तथा विदेशमासमेत रहनुभएकाले सबैलाई सम्मान गर्न नसकिएको हो । बाँकी रहनुभएकाहरुलाई पनि सम्मान गर्दै जाने वडा अध्यक्ष पंगेनीले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा आउनुभएका वडाका ७० वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई वडाको आर्थिक वर्ष २०७८÷०७९ कालागि विनियोजन गरिएको रु. एकलाखबाट सम्मान गरिएको वडा सचिव डोलजंग गुरुङले जानकारी दिनुभयो । वडाले सम्मानस्वरुप प्रत्येक ज्येष्ठ नागरिकलाई न्यानो कम्मलसहित ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेको हो । समाजमा रहेका आँफूजस्ता ज्यष्ठ नागरिकहरुलाई वडाले खोजी खोजी न्यानो कम्मल र परिचय पत्र उपलब्ध गराएकोमा निक्कै खुशी लागेको वालिङ ५ पित्लेककी ७९ वर्षीया भीमकुमारी गुरुङले बताउनुभयो ।
“हाम्रो समाजमा बुढाबुढीलाई खास्सै वास्ता नगर्ने, बोझकोरुपमा हेर्ने प्रवृत्ति छ” भीमकुमारीले भन्नुभयो, “वडाले खोजी खोजी न्यानो कपडासहित परिचय पत्र उपलब्ध गराएर सम्मान गर्नुपर्छ भन्ने जुन सन्देश दिएको छ यसबाट म सहित अन्य ज्येष्ठ नागरिकहरु पनि खुशी भएको महशुस गरेकी छु ।” नयाँ पुस्ताहरुले ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप र अनुभवहरुलाई बटुल्दै अगाडि बढ्नुपर्नेमा भीमकुमारीले जोड दिनुभयो ।
Facebook Comments Box
TOP