स्याङ्जामा ‘तपाईको मास्क खै ?’ अभियान

स्याङ्जा, ७ माघ : 

दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेकाबेला स्याङ्जामा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको छ । जिल्लामा ओमीक्रोनको प्रकोप बढेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै जिल्ला कोभीड व्यावस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना र पत्रकार समेतको टोलीले संयुक्तरुपमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन शुक्रबार जिल्लाको सदरमुकाम पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिकामा सचेतना सहित स्थानीयलाई मास्क वितरण गरिएको थियो ।

जनचेतना अभियानमा निस्किएको टोलीले मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरेका थिए । यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएका थिए । बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले भने मास्कको प्रयोग नगरेको पाइएको जनाइएको छ ।

अभियानका क्रममा प्रमुख जिल्ला अधिकारी राजु पौडेल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, बाणिज्य संघमा आवद्ध प्रतिनिधिले अनिवार्य मास्क प्रयोगका लागि स्थानीयलाई सुझाव सल्लाह दिएका थिए । अभियानकर्मीले ‘तपाईको मास्क खै ?’ भनेर सोधेपछि कतिपयले हत्तपत्त मास्क लगाएका थिए । ‘तपाईहरुसँग मास्क छैन भनेर दिइएको होइन,’ अभियानको क्रममा प्रजिअ पौडेलले भने, ‘संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य लगाऔं, कोरोनाबाट सुरक्षित रहौं भनेका हौँ ।’

अहिले स्थानीयले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतनामुलक कार्यक्रम थालिएको प्रजिअ पौडेलले बताए । अभियानमा सहभागीले ‘तपाईको मास्क खै?, मास्कको नियमित प्रयोग गरौं, भौतिक दुरी कायम गरौं÷गराऔं, भिडभाड नगरौं, भीडमाडमा नजाऔं, अनावश्यक हिँडडुल नगरौं’ लगायतका सन्देश दिएका थिए । जनचेतना अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रजिअ पौडेलले बताए । अभियानको क्रममा मास्कको प्रयोग विना व्यापार व्यावसाय गरीरहेका ७० जनालाई जरिवाना गरिएको छ । आजै मात्र ३ हजार भन्दा बढी मास्क वितरण गरिएको तथा ५ हजार भन्दा बढीलाई मास्कको उचित प्रयोग सम्वन्धि सचेत गराईएको प्रजिअ पौडेलको भनाई छ ।

 

Facebook Comments Box
TOP