गल्याङ नगरपालिकाको दशौं नगरसभा भर्चुअल माध्यमबाट सम्पन्न
गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो दशौं नगरसभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै नगरपालिकाले शुक्रबार प्रविधिको प्रयोग गरी नगरसभा गरेको हो ।
नगर कार्यपालिकाको कार्यालयमा नगरप्रमुख भुपराज अधिकारी, नगर उपप्रमुख देविसरा थापा र प्रमुख प्रशासकीय अधिकृत शर्मा रहनुभएको थियो भने वडाध्यक्ष सहित नगर सभाका सदस्यहरु वडा कार्यालय तथा घरमा नै बसेर नगर सभामा सहभागी हुनुभएको थियो ।
नगरसभामा चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सहित राजश्व बाँडफाँड संसोधन विधेयक, अनुमानित आय विवरण संसोधन विधेयक तथा खर्चको संसोधन विधेयक सर्बसम्मत पारित भएको छ ।
नगरप्रमुख भुपराज अधिकारीले कोरोना संक्रमणको कारण प्रत्यक्ष भेटघाट हुन नसकेपनि प्रविधिको प्रयोग गरी नगरसभा सम्पन्न गरिएको बताउनुभयो ।
नगरसभालाई सम्बोधन गर्दै उहाँले पहिलो नगरपालिकाको रुपमा रहेको गल्याङ नगरपालिकामा जनताका अपेक्षा धेरै भएको अवस्थामा महामारीले थप समस्या पारेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘नगरपालिकाको प्रशासनिक भवन सहितका भौतिक संरचना बनाउनुपर्ने सहितका कामले गर्दा जनताको विकासमा धेरै बजेट राख्न सकिएन तर पनि हामी सफल भएको मैले महसुस गरेको छु ।’
उहाँले कोरोना संक्रमण तीन वर्षसम्म झेल्नुपर्दा धेरै समस्याहरु आइरहेको भन्दै केही समय पछि प्रत्यक्ष रुपमा छलफल गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख अधिकारीले यो कार्यकालमा गल्याङ नगरपालिकाका जनप्रतिनिधिहरु बीच अत्यन्तै राम्रो सम्बन्ध बनेको भन्दै प्रत्यक्ष सहभागितामा नगरसभा गर्न नपाउँदा आफुलाई दुख लागेको बताउनुभयो ।
उहाँले थोरै स्रोत साधानका बीच जनताका धेरै कामहरु भएको भन्दै यसमा सबै नगरसभाका सदस्यहरुको हात रहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले बाँकी रहेको कार्यकालमा पनि दत्तचित्त भएर जनताको अधिकतम सेवामा लाग्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
सभामा गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापाले राजश्व आम्दानीको स्रोतमा वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले कार्यसम्पादन लिजाको बारेमा भएको प्रगति बारे जानकारी गराउनुभयो ।
गल्याङ नगरपालिका आइटी इन्जिनियर उदय खनालले भर्चुअल (जुम) माध्यम को सहजिकरण गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …