सुदूरपश्चिममा भारतबाट धमाधम घर फर्कदै, फर्केका अधिकांसमा कोरोना ।

india-nepal

धनगढी:
सुदूरपश्चिमका नाकाहरू भएर भारतबाट फर्कनेहरूमा कोरोना संक्रमण देखिन थालेको छ। शनिबार मात्रै भारतबाट फर्केका एक सय २५ जनामा संक्रमण देखिएको छ। गड्डाचौकी र गौरीफन्टा नाकामा भारतबाट फर्कनेहरूमा कोरोना संक्रमणको पहिचान हुने दर बढेपछि धनगढी र महेन्द्रनगरका आइसोलेसन संक्रमितले भरिन थालेका छन्।

धनगढीको कनरीमा रहेको आइसोलेसनमा अहिले ६८ जना संक्रमित छन्। उनीहरू सबै भारतबाट फर्केका हुन्। संक्रमित अहिलेकै गतिमा बढे धनगढीमा आइसोलेसनको समस्या हुने देखिएको छ। कनरीको आइसोलेसन सयजना राख्ने क्षमताको हो। ‘संक्रमण बढ्दै गएकाले आइसोलेसन पनि भरिँदै छ। नाकामा पजिटिभ देखिएकालाई कहाँ राख्ने भन्ने समस्या आउने देखिन्छ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘आइसोलेसनको समस्या हुन सक्नेबारे सामाजिक विकास मन्त्रालयलाई खबर गरिसकेका छौँ।’

शनिबार गौरीफन्टा नाकाबाट आएका ७१ जनामा संक्रमण देखिएको छ। शुक्रबार ६७ जनामा संक्रमण देखिएको थियो। निजी यातायातको साधन लिएर जान चाहने संक्रमितलाई घर जान दिने गरिएको छ। तर, आइसोलेसनमै राख्नुपर्ने बढे व्यवस्थापनमा चुनौती हुने देखिन्छ।

Facebook Comments Box
TOP