गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन: लामो दूरीमा २३.५१ प्रतिशत वृद्धि।

Gandaki_Pradesh

पोखरा:
गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदनअनुसार भाडा समायोजन गरेको हो ।

मन्त्रिपरिषद्ले गरेका निर्णय मंगलबार बिहान सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले भाडा समायोजन गरिएको जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक बस, ट्रक, ट्याक्सीको भाडादर समायोजन गरिएको हो । संघ सरकार र अन्य प्रदेशमा भाडा समायोजन भइसक्दा गण्डकीमा भाडा समायोजन नगरिएको भन्दै यातायात व्यवसायीले छिटो भाडा समायोजन गर्न दबाब दिँदै आएका थिए । प्रदेश सरकारद्वारा समायोजित भाडा दरअनुसार प्रदेशभित्र लामो दूरीमा चल्ने बसमा यात्रुले अब थप २३.५१ प्रतिशत भाडा तिर्नुपर्नेछ ।

नगरबसमा यात्रा गर्दा सेवाग्राहीले अब थप २२.५ प्रतिशत तिर्नुपर्नछ । जिपमा यात्रा गर्ने यात्रुले ५.५ प्रतिशत थप भाडा तिर्नुपर्नेछ । ट्रकको भाडा पनि १४.५७ प्रतिशत बढेको छ ।

ट्याक्सीमा मिटर प्रणाली लागू

ट्याक्सीमा भाडा समायोजन भइ फ्ल्याग डाउनमा पल्स सिस्टममा सुरुको ८० र त्यस पछि १५ किलोमिटरसम्म थप दुइ सय मिटरमा १० रुपैया थपिदै जाने छ । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम लागू हुने छैन । १५ किलोमिटर माथिको दुरीमा प्रति किलोमिटर ३७ रुपैया ५० पैसाका दरले भाडा तिर्नुपर्ने छ । संघ सरकारले यसअघि नै भाडादर वृद्धि गरे पनि गण्डकीमा समायोजन हुन सकेको थिएन ।

भाडा समायोजनसँगै सार्वजनिक यातायातमा नयाँ नियम लागू   :

भाडा समायोजनसँगै सार्वजनिक यातायातका लागि प्रदेश सरकारले अनिवार्य केही नियम पनि लागू गरेको छ । सवै सार्वजनिक साधनमा अनिवार्य जिपिएस जडान गर्नुपर्ने, ट्याक्सीचालकले अनिवार्य पोसाक लगाउनुपर्ने र परिचयपत्र देखिनेगरी राख्नुपर्ने नियम लागू गरिएको छ । त्यसैगरी ट्याक्सीचालकले यात्रा गर्ने सबै यात्रुलाई अनिवार्य रूपमा भिजिटिङकार्ड दिनुपर्नेछ । यातायातका साधन अन्तर्राष्ट्रिय प्रचलनअनुरूपका रङयुक्त हुनुपर्नेछ । नयाँ बसमा अनिवार्य स्वचालित ढोका हुनुपर्नेछ । यात्रुको सुरक्षा र जिम्मेवार व्यवसायी बनाउन यो सबै गर्नुपरेको यातायात मन्त्री खड्काले बताए ।

यातायात व्यवसायी: व्यवसायीमैत्री समायोजन भएन

प्रदेश सरकारले गरेको भाडा समायोजनलाई लिएर यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले संघ सरकारले ताकेको भाडादरमा पनि प्रदेश सरकारले संकुचित गरेको भन्दै असन्तुष्टि जनाए ।

संघ सरकारले भदौमा भाडादर निर्धारण गरेपछि पनि डिजेलको मूल्यमा नौ रुपैयाँ वृद्धि भएको भन्दै उनले त्यसमा पनि घटाइनुले व्यवसायीमैत्री समायोजन नभएको टिप्पणी गरे ।

उनले भने, ‘संघीय सरकारले २८ प्रतिशतसम्म भाडा बढाएको छ । सबै कुरालाई मूल्यांकन गरेरै त्यो भाडादर निर्धारण गरिएको थियो । त्यसपछि पनि तेलको मूल्य लगातार बढेकोबढ्यै छ । नौ रुपैयाँ मूल्य बढिसक्यो । यस्तो अवस्थामा यहाँ बसको भाडामा २३.५१ प्रतिशतमात्र वृद्धि गर्नु सान्दर्भिक भएन । यद्यपि, राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधिसमेत सामेल रहेको समितिले सिफारिस गरेकाले त्यसलाई स्वीकार गर्ने उनको भनाइ छ ।

 

Facebook Comments Box
TOP