पशु चिकित्सक टोल टोलमै पुगेर सेवा उपलब्ध गराउँदै

तोलाकान्त बगाले/वालिङ :

वालिङ नगरपालिकाले टोल टोलमै पुगेर पशु स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरेको छ । वालिङ नगरपालिका पशु सेवा शाखाले टोल टोलमा पुगेर पशु स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने र समस्या समाधानकालागि पहल गर्ने अभियानको आज नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङ ४ च्यारेमा उद्घाटन गर्नुभएको हो ।

नगरपालिकाका विभिन्न वडामा पशुपालन गर्नुभएका किसानहरुलाई ब्यवसायिकतातर्फ आकर्षित गर्न र ब्यवसाय सञ्चालनकाक्रममा आईपरेका समस्याहरुको समाधानकालागि सहयोग गर्ने मुख्य उद्देश्यसहित यस अभियानको थालनी गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

परम्परागत र निर्वाहमुखी पशुपालनभन्दा पनि ब्यवसायिकतातर्फ जोड दिनुकासाथै आईपरेका समस्याहरुकाबारेमा सम्बोधन गर्नका लागि आवश्यक नीति नियमहरु बनाउन सहयोग पुग्ने विश्वास नगर प्रमुख खाँणले ब्यक्त गर्नुभयो ।

नगरपालिकाले वडाहरुमा पशु प्राविधिकहरु थप गरी समयमै पशुसम्बन्धी स्वास्थ्य सेवा तथा पशुपालन गर्दा आईपर्ने प्राविधिक समस्याहरुकाबारेमा समाधान गर्दै लगिने नगर प्रमुख खाँणले बताउनुभयो ।

चालु आर्थिक वर्षमा नगरका विभिन्न वडाका ३० वटा वडामा यो अभियान सञ्चालन गरिने पशु सेवा शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।

नगरपालिकाको प्रत्यक्ष प्राविधिक सेवा नपुगेका टोलहरुमा पशुपंक्षीको स्थलगत उपचार, निशुल्क औषधि वितरण र गोठ तथा फर्ममै पुगेर पशु तथा पंक्षीहरुको निरीक्षणसँगै आवश्यक परामर्श तथा सुझावहरु दिईने शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

पशुपंक्षीपालन गर्न चाहने तर ज्ञानको अभावले समस्यामा परेका पशुपालक किसानहरुकालागि यो अभियान निक्कै महत्वपूर्ण हुने शाखा प्रमुख अधिकारीको दाबी छ । उक्त कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञाशाहरुकाबारेमा नगर प्रमुख खाँण, शाखा प्रमुख अधिकारी, पशु प्राविधिक लेखनाथ अर्याल र दोलराज गैह«ले सहजीकरण गर्नुभएको थियो ।

उद्घाटन समारोह वालिङ वडा नं. ४ का वडा सदस्य ठगप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन पशु प्राविधिक दोलप्रसाद गैह«ेले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP