क्रिकेट रंगशाला निर्माणको कामबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेसन ।

काठमाण्डौ:
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेसन पछि हटेको छ।फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो। आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो।

फाउण्डेसनले संस्थागत निर्णय गरी कोभिड-१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ।

फाउण्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ ‘फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाइ भएको छ।’

सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ। सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ।महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले कोभिड–१९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताइन्। यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताइन्। यस सम्बन्धमा युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको दाहालले बताइन्।महानगरले फाउण्डेसनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेसन पछि हटेको हो। उनका अनुसार फाउण्डेसनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदै छ। बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिइन्।

 

Facebook Comments Box
TOP