वालिङका १८ वर्ष माथिका सबैलाई खोप लगाईने

वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दा माथिका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाईदिने भएको छ ।
वालिङ नगरपालिकाका नागरिकलाई महामारीकोरुपमा फैलिएको कोभिड १९ को सङ्क्रमणबाट बचाउन तथा नागरिकहरुको जीवन रक्षाकालागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाईदिने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“वालिङ नगरपालिकाको तथ्याङ्क अनुसार करीब ३२ हजार हुनुहुन्छ उहाँहरुमध्ये यसअघि १७ हजार बढीले खोप लगाईसक्नुभएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म बाँकी रहनुभएका सबैलाई खोप लगाउने गरी तयारी गरेका छौं ।”
वालिङ नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्रहरु गरी १७ ठाउँमा तीनदिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आईसकेको नगर प्रमुख खाँणले बताउनुभयो ।
“वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका लागि पहल गरिरहेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “तसर्थ यहाँहरु सबै जनाले आ–आफ्नो पायक पर्ने स्वास्थ्य संस्थाहरुमा गई अनिवार्यरुपमा खोप लगाउनुहुन नगरबासीहरुसमक्ष अनुरोध गर्दछु ।”
१८ वर्षभन्दा माथिका नागरिकहरुलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनीका नागरिकहरुलाई खोप लगाउनका लागि पहल शुरु गरेको नगर प्रमुख खाँणले बताउनुभयो ।
नगरबासीहरुको जीवन रक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म तीन दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।
वालिङमा सङ्क्रमणलाई शून्यमा झार्ने अभियान अभियानस्वरुप अनिवार्य खोप लगाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
वालिङ नगरपालिकाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि कुनै कञ्जुस्याई नगरी निरन्तररुपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो ।
तीनदिनसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाईने प्रमुख पाण्डेले बताउनुभयो ।
१८ वर्षभन्दामाथिका खोप लगाउन बाँकी रहेका १५ हजार जनालाई भेरोसेलको पहिलो मात्रा लगाईने भएको हो । खोप अभियानकालागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करीब एकसय जना स्वास्थ्यकर्मीहरु परिचालन गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाले कोभिड १९ को सङ्क्रमणकालीन अवस्थामा कोभिडको रोकथाम तथा नियन्त्रणका लागि खेलेको भूमिकाप्रति यहाँका नागरिकहरु सन्तुष्ट देखिएका थिए । शेयरकास्ट ईनिसियटिभ नेपालले गरेको मत सर्भेक्षणले उक्त कुरा पुष्टि गरेको थियो ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…