आज लक्ष्मीपूजा

यमपञ्चकको तेस्रो दिन बिहीबार घरघरमा लक्ष्मीपूजा गरिंदैछ । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइन लागेको हो ।

साँझ लक्ष्मीपूजा गर्नुअघि घर सफासुग्घर र लिपपोत गर्नुपर्ने मान्यता छ । सफा नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वासका आधारमा बिहानै घर सफासुग्घर गर्ने चलन छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
सुखरात्रिको पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । साथै यसै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीसमेत परेको छ ।
बुधबारमात्र यमपञ्चकको दोस्रो दिन इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइयो । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ ।
कात्तिक १९ गते शुक्रबार गोबद्र्धन पूजा परेको छ भने भोलिपल्ट शनिबार भाइटीका परेको छ ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP