स्याङ्जाको ‘सिरुबारी होमस्टे’ पुनः सञ्चालन ।

प्रकाश डोटेल/स्याङ्जा:
नेपालकै नमुना पर्यटकीय गाउँ ‘सिरुबारी होमस्टे’ गएको हप्तादेखि पुनः सञ्चालनमा आएको छ । मुलुककै पहिलो होमस्टेका रुपमा प्रख्यात सिरुबारी कोरोना भाइरस संक्रमणको पहिलो र दोश्रो चरणसँगै बन्द रहेको होमस्टे पुनः सञ्चालनको लागि पर्यटनकर्मीहरु आ–आफ्ना तयारी पुरा गरी संचालनमा ल्याएका छन् ।
आँधीखोला गाउँपालिका १ पञ्चमूलस्थित शिरुबारी बाक्लो गुरुङ बस्ती छ । गाँउले तथा पहाडीया जीवन, कला, संस्कृति, गुम्वा, भ्यू टावर, म्यूजियम, धारु, बुद्धको मूर्ति लगायतका क्षेत्रका घुमिफिर तथा अवलोकन गर्ने स्थलहरु मनमोहकका लागि आक्रर्षक छन् ।
पाहुना आउने खबर पाएपछि होमस्टे सञ्चालकहरु गाँउ प्रबेशको मुख्य प्रवेशद्वारमा पञ्चेबाजासहित पाहुनाका स्वागत र सम्मान गर्छन् । पञ्चेबाजासँगै पाहुनालाई लिएर नाच्दै नचाउँदै सांस्कृतिक भवनमा पु¥याईन्छ । त्यसपछि खाजामा स्थानीय मकै, रोटी, चिया, चाना हुनेका लागि स्थानीय रक्सी, चिसो लगायतका खाजा खुवाउने गरिन्छ ।
मौलिक ढंगका ढुंगाले बनाईएका चिटिक्क परेका घर, आँगन, बाटोघाटो, चिसो र सफा वातावरण र सफा मनका स्थानीयवासी मुख्य बिशेषता हुन् । पारिवारिक सदस्य झै व्यवहार गर्दे स्थानीयले आ–आफना घरघरमा पाहुना राख्नेगरी सुरुवात गरिएको होमस्टे गुरुङ जीवनशैली स्थानीय संस्कृतिका माध्यमबाट पर्यटकलाई न्यानो आतिथ्यता प्रदान गर्दछन भने स्थानीयस्तरमा उत्पादित खानापानमा जोड दिने गरेका छन् ।
२०५४ सालदेखि पर्यटन गाउँका अभियन्ता पूर्वसांसद स्व.क्याप्टेन रुद्रमान गुरुङको विशेष पहलमा होमस्टे सञ्चालनमा ल्याइएको हो । गाउँको विकास आफैबाट सुरुवात गर्नुपर्छ भन्ने मान्यता बोकेका गुरुङले स्याङ्जाको एक पिछडिएको स्थललाई साच्चीकै सुन्दर र दक्षिण एशियाकै नमुना पर्यटकीय गाउँ बनाउन सफल भएको सिरुबारी पर्यटन विकास समितिका संयोजक जुमबहादुर गुरुङ् बताउँछन् ।
‘उनी पर्यटन व्यवसाय र होमस्टेका पिता हुन् ।’ संयोजक गुरुङ् भन्नेछन, उहाँ अहिलेसम्म जिउँदो भएका भए यो गाउँको अझ धेरै विकास हुनेथियो ।” नेपालमा पहिलो होमस्टे सञ्चालन गर्ने स्याङ्जाको सिरुबारीलाई होमस्टेको उद्गम थलोको रुपमा देशभर परिचित रहेको उनले सुनाए ।
सिरुबारीका २३ घरहरु होमस्टेका लागि तयार छन् । प्रत्येक घरमा २ देखि ४ जनासम्म राख्न सकिने गरी भौतिक संरचना बनाइएको छ । पाहुना बसाईको जिम्मेवारी लगायतका अन्य ब्यवस्थापन समितिले नै गर्ने गरेको छ । विश्व लगायत नेपाललाई नै आतंकित पार्नेगरी फैलिएको कोरोनाका कारण ठप्प रहेको व्यवसाय केही चलायमान भएको छ ।
होमस्टे शुभारम्भ स्वरुप कांग्यूर पाठवाचन गरी होमस्टे सञ्चालनमा ल्याईएको होमस्टे सञ्चालिका उर्मिला गुरुङ् बताईन् । गुरुङ् भन्छिन् , “लोकप्रिय गायिका, बौद्ध भिक्षु आनी छोइङ डोल्मा लगायत डा. किरण गुरुङ् (खेम्पो) र सन्तोष गुरुङ् (खेम्पो) लगायतको उपस्थितिमा झण्डै ५० जना बौद्धधर्मगुरु र बाल लामाले पाठवाचन गरेका थिए ।” बौद्ध परम्परामा त्रिपिटक कांग्युर पाठ गर्नाले शान्ति, सुख र स्वास्थ्यलाभ हुने विश्वास गरिन्छ । कांग्यूर भनेको गौतम बुद्धले ८० बर्षसम्म दिएको उपदेशको संग्रहित ग्रन्थ हो ।
सिरुबारी जानका लागि पर्यटकीय नगरी पोखराबाट डेढ घण्टाको सवारी यात्रापछि स्याङ्जा पुतलीबजारको नागडाँडा र त्यसपछि झण्डै डेढ घण्टाको यात्रापछि सिरुबारी पुग्न सकिन्छ । सिरुबारीबाट उच्च हिमश्रंखला र सुर्योदयको नजिकबाट अवलोकन गर्न सकिन्छ ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…