आज भाइटीका : उत्तम साइत बिहान ११ : ०२ मिनेटमा

काठमाण्डौ :  तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ ।

यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । आजको दिनलाई यम द्वितीया पनि भनिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनिएपछि शास्त्रीय मान्यता भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

 

Facebook Comments Box
TOP