वालिङ कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

वालिङ :
वालिङ नगरपालिकामा सञ्चालन गर्न लागिएको ‘वालिङ कृषि तथा पशु उद्यमशीलता विकास परियोजना’ सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि पालिकाले बिभिन्न काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी दीर्घकालिन योजनामा अगाडि बढिरहेका छौं र नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन प्रतिवद्ध छौं ।’ कृषि र पशु क्षेत्रमा रहेको हेफर परियोजनाको बिज्ञताको प्रयोगले वालिङका कृषकहरुलाई निक्कै फाईदा पुग्ने नगरप्रमुख खाँणको भनाई छ ।
कार्यक्रममा हेफर प्रोजेक्टका कार्यक्रम प्रवन्धक अनन्त सिलवालले परियोजनाको योजना, सोच तथा गरिने क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई,वडा नम्वर १ का अध्यक्ष तथा नगरप्रवक्ता केदार काफ्ले लगायतले बोलेका थिए ।
वालिङ नगरपालिका र हेफर प्रोजेक्टको सहयोग तथा दियालो संस्थाको साझेदारीमा वालिङमा परियोजना शुरु भएको हो ।

कसरी सञ्चालन हुन्छ कार्यक्रम ?

वालिङ नगरपालिकाका बिपन्न तथा निम्न आय भएका परिवारलाई आयआर्जनमा सघाएर गरिवी निवारण गर्ने उद्देश्यले कृषि तथा पशु उद्यमशिता कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
देशका बिभिन्न ४२ पालिकामा काम गर्दै आएको हेफर इन्टरनेशनलले जिल्लामा नै पहिलो पटक वालिङ नगरपालिकामा काम शुरु गरेको हो ।
चालु आर्थिक बर्षबाट कार्यक्रम थालेको हेफरले पहिलो चरणमा आगामी २ बर्षसम्म चल्ने परियोजनाको बारेमा नगरका जनप्रतिनिधि तथा कृषि पशु क्षेत्रसँग छलफल गर्दै परियोजना निर्माण समिति र वडा स्तरीय व्यवस्थापन समिति गठन र कार्ययोजनालाई प्राथमिकता दिदै अगाडी बढेको हो ।
यो परियोजनामा वालिङ नगरपालिकाको ७५ प्रतिशत र हेफरको २५ प्रतिशत साझेदारी रहनेछ । हेफरले दियालोसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । आगामी २०८० असार सम्म वालिङमा सञ्चालन हुने कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको बारेमा जानकारी दिनुहुदै हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्तराज सिलवालले परियोजना अन्तर्गत कृषि तथा पशु उद्यम अन्तर्गत महिला समुहमा काम गर्ने साथै कृषि उत्पादन र बजारीकरण, युवामा ऋण प्रवाह तथा फरक क्षमता भएका व्यक्तिहरुको आयआर्जनमा सघाउने खालका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।


परियोजनाको उत्कृष्टता हेरेर थप ४ बर्ष समय थपिनेछ । परियोजनाले महिला सहकारीसँग समन्वयमा कार्यक्रम सञ्चालन हुने बताईएको छ । नगरका १४ वडा मध्ये पहिलो चरणमा ७ वडामा निम्न आय घर परिवार पहिचान गरि तत्काल काम आगाडी बढाउने प्रवन्धक सिलवालले जानकारी दिनुभयो ।
महिला समुहमा गरेको लगानी र प्रतिफल खुलेर प्रशंसा गर्न योग्य बनेको बताउदै कार्यक्रम प्रमुख सिलवालले मुल समुह र उपचार समुहमा रहेका महिला समुहले बाख्रा, बंगुर पालन गरेर बर्षेनी राम्रो आम्दानी गरेसँगै सहकारी चलाएर जिवन थप समृद्ध बन्दै गएको बताउनुभयो । उत्कृष्ट कार्य भएमा र आबश्यकताको आधारमा सहकारीलाई कृषि उपज बजार पु¥याउन ५० प्रतिशतमा अनुदानमा गाडी उपलव्ध गराईने बताउनु भयो ।
सहकारीता, समन्वय र सहअस्तित्वको सम्बन्धनात्मक भावनाले राम्रो नजिता दिने भन्दै यसको अबलम्बनमा जोड दिनुपर्ने सिलवालको भनाई छ । गरिवी न्युनिकरण र बितरणमा धेरै कार्यक्रम भएपनि त्यसको अनुगमन र प्रतिफलमा पनि बढाउने पर्ने बताईएको छ ।


सबै वडामा वडा स्तरीय समिति गठन र यस बर्षको कार्ययोजना निर्माण गरिसक्ने दियालो संस्थाका अध्यक्ष किवता तिवारीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘नगरपालिकाको सहकार्यमा यसअघि नै गठन भई कार्यान्वयनमा रहेका महिला समूह वा सहकारीलाई समेत कार्यक्रममा आवद्ध गारईने छ ।’

सो अबसरमा नगरमा नगरप्रमुखको अध्यक्षतामा परियोजना निर्माण तथा अनुगमन समिति, वडामा वडाअध्यक्षको अध्यक्षतामा वडा स्तरीय व्यवस्थापन समितिको प्रस्ताव तथा छनोट गरिएको छ ।
समितिमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा जनप्रतिनिधि, बिषयगत शाखा एवं साझेदार सस्थाका प्रतिनिधि रहनेछन् । नगरपालिकामा आगामी बर्षको लागि सवा २ करोडको कार्ययोजना निर्माण हुनेछ । यो अवधीमा सुलभ कर्जा प्रवाह गरिने छ जुन रकम ९ करोड भन्दा बढी रहने बताईएको छ । परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि काम गर्ने छ ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, पत्रकार, कृषि तथा पशु सेवा कार्यालयका कर्मचारी, परियोजनाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
TOP