वालिङमा भलिबल प्रतियोगिता शुरु, बिजेताले १ लाख पाउने ।

वालिङ :
वालिङ भलिबल क्लबको आयोजनामा आजबाट वालिङ खेलमैदानमा भलिबल प्रतियोगिता शुरु भएको छ । क्लबको दोस्रो वार्षिकोत्सवका अवसरमा आजबाट शुरु भएको पुरुष तथा महिला भलिबल प्रतियोगिता कात्तिक १३ गतेसम्म सञ्चालन हुने छ । भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका यूवा तथा खेलकूद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले खेल क्षेत्रको विकाससँगै खेलाडीको क्षमता अभिवृद्धि गर्नतर्फ ध्यान केन्द्रीत भएको बताउनुभएको छ । उहाँले खेलको गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवतप्रकाश मल्लले नयाँ प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन र थप प्रतिभाशाली खेलाडीको प्रतिभा प्रष्फुटन गराउनकालागि यस प्रकारका प्रतियोगिताको निरन्तरतामा जोड दिनुभयो । कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले खेलकूदका गतिविधिहरु सञ्चालन गर्नकालागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्दै आएको बताउनुभयो । खेलाडीहरुको क्षमता विकास र भौतिक पूर्वाधारहरु निर्माणका लागि नगरपालिका प्रतिवद्ध रहेको धारणा उहाँले ब्यक्त गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश खेलकूद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं. २ प्रदेश क का सभापति अर्जुनप्रकाश अर्याल, खेलकूद विकास समिति स्याङ्जाका अध्यक्ष मोहन गुरुङ, आयोजक क्लबका आजीवन सदस्य मोहन गुरुङ, सुनिल खड्का लगायतले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
भलिबल खेलको विकास गर्नुकासाथै खेलकूदका माध्ययमबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न, वालिङलाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन, नयाँ प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन र थप प्रतिभाशाली खेलाडीको प्रतिभा प्रष्फुटन गराउने, वालिङमा भलिबल प्रशिक्षण केन्द्र स्थापना गरी एकेडेमी सञ्चालन गर्ने मुख्य उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष दीपेन्द्र मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय खेलाडीहरुको सहभागिता रहने छ । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कूल रु. ९ लाख ४० हजार आम्दानी र ८ लाख ९२ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा वालिङ नगरपालिका कार्यालय रहेको छ । पुरुषतर्फको भलिबल प्रतियोगितामा बिजेताले रु. एकलाख, द्वितीय हुनेले रु. ५० हजार, तृतीय हुनेले रु. २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना हुनेले रु. १० हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
महिला भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु. २० हजार, रु. १० हजार र रु. ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । क्लबका उपाध्यक्ष किरण खाँणको स्वागतसँगै शुरु भएको कार्यक्रम अध्यक्ष दीपेन्द्र मल्लको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव हुमराज गुरुङले गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ १० टिम र महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
Facebook Comments Box
TOP