भीरकोट : दसैंमा भलिबल प्रतियोगिता

भवानी अधिकारी/स्याङ्जा : भीरकोट नगरपालिका- ९ ठुलीभन्ज्याङ्स्थित सूर्योदय युवा क्लबले २९ औं वार्षिकोत्सवसँगै दसैंको शुभकामनासहित खुल्ला भलिबल प्रतियोगिता गरेको छ। भलिबल प्रतियोगिताको सुभारम्भ गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवतप्रकाश मल्लले खेलका माध्यमबाट नाम र दाम कमाउन सकिने अवस्था रहेकाले खेलाडीलाई स्थापित गर्नका लागि आफू प्रतिवद्ध रहेको बताए।

जिल्लाको परिवेश सुहाउँदो खेल चयन गरी अघि बढ्न युवालाई आग्रह गर्दै दसैंको शुभकामना व्यक्त गरे। कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, स्याङ्जा काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष देवीप्रसाद अर्याल, नगर प्रवक्ता एवं तरुण दलका क्षेत्रीय अध्यक्ष दिपेन्द्र केसी, वडा अध्यक्ष भीमबहादुर गुरुङ, नगर उपाध्यक्ष बिष्णुमाया काफले, त्रिभुवन क्याम्पसका स्ववीयू सभापति सुनिलबाबु चापागाई, युवा खेलाडी तिलक गुरुङ र रमेश गुरुङलगायतले राज्यले खेलप्रति उदार हुनुपर्ने बताए।

खेल नै स्वास्थय र जीवन भएकाले सबै युवाहरुलाई खेलका माध्यमद्वारा स्वस्थ्य र निरोगी बनाउने खालका कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबीच तालमेल हुनुपर्नेमा जोड दिए। दसैं नजिकिएसँगै गाउँघरमा खेलकुल कार्यक्रम हुन थालेका छन्। घर बाहिर बस्नेहरु पनि घर आउन थालेपछि गाउँघरमा चहलपहल बढेको छ। लामो समय सुनसान भएका गाउँघर खेलका कार्यक्रमसँगै चलायमान भएका छन्। कारोनाका कारण घरभित्र बस्न बाध्य युवाहरु यसपटकको दसैं अघिल्लो वर्षभन्दा पृथक ढंगले मनाउने क्लबका अध्यक्ष लिविन गुरुङ्ले बताए।

जारी प्रतियोगितामा ३२ समूह सहभागी छन्। लीग चरणबाट हुने प्रतियोगितालाई आवश्यकता अनुरुप लम्ब्याइने आयोजकको भनाइ छ।

Facebook Comments Box
TOP