नैतिकता र अबिभेदपूर्ण ब्यबहार नै मानवअधिकार : लीली थापा

Lili Thapa

भवानी अधिकारी/स्याङ्जा :
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाले नैतिकता र अबिभेदपूर्ण प्रणालीबाट नै मानवअधिकार रहेको बताउनुभयो । गर्भदेखि मृत्युपर्यन्त अधिकारको संरक्षण नै मानवअधिकार रहेकोमा उहाले जोड दिनुभयो।
राष्ट्र्यि मानव अधिकार आयोगद्धारा पुतलीबजार नगरपालिकामा आइतवार आयोजित मानवअधिकार कार्ययोजना तथा मानवअधिकारको अवस्था बिषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दे उहाले मानवअधिकारका ठूल्ठूला सिद्धान्तिक कुरा गरेर मात्र नभई नैतिक आचरणले मानवअधिकारको रक्षा हुने बताउनुभएक हो ।
‘बर्षौं पहिले बुद्धले बुद्ध दर्शन मार्फत सिकाएका नैतिकताका पाठलाई आज फेरि अन्य देशका मानिसले यो यो गर, उसो गर भनेर सिकाउनु दुखद हो।’ उहाले भन्नुभयो, ‘बुद्ध दर्शनका केही कुरा अपनाउन सक्यौं भने विदेशीले हामीबाट सिक्नेछन्। यहाँ सिक्न आउनेछन्।’
हाम्रो राज्यले अर्काले भनिसकेपछि यो यो गर भनेर भनेपछि गर्ने परिपाटीले ब्यक्तिगत रुपमा आफुलाई आत्मग्लानी हुने उहाले बताउनुभयो । थापाले भन्नुभयो, ‘मानवअधिकार त्यतीवेला प्रत्याभूति हुन्छ जतिवेला सबैले आ आफना पहिचान खुलेर पाउछन्। महिला, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमताका ब्यक्तिका पहिचान र अवसर समान हुनेछन्।’
जिल्लामा एउटा पनि सेभ हाउस नहुनु दुखद रहेको उहाको भनाई छ। उहाले भन्नुभयो्, ‘महिला मेयर भएको नगरपालिकामा धेरै महिला अधिकारका कुरा भए होलान भनेर सोचेकी थिएँ। तर, ती कमी पाएँ।’
मानवअधिकारवादी हामी सबै भएको बताउदै सबैको सहयोग, सहकार्य, एकता र नैतिकताले मात्र मानवअधिकारको रक्षा हुने उहाको भनाई छ।
कार्यक्रममा कार्यवाहक नगरप्रमुख ओमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेल, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम नेपाल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले मानवअधिकार र जिल्लाका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
यसैगरी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, अधिबक्ता द्धय तुलसी गिरी र युगनारायण श्रेष्ठ, प्राध्यापक सोमनाथ लम्साल, योजना तथा प्रशासकिय अधिकृत ताराचन्द्र ढकाल, नगर कार्यपालिका सदस्य तीला रेग्मी, अपांग समाज स्याङ्जाका अध्यक्ष युवराज पराजुली, पत्रकार रोशन लामिछाने लगायतले मानव अधिकार आयोगका काम कारवाही प्रति राज्य पक्षको कार्यान्वयनको पक्षको फितलोपनका बारेमा जिज्ञासा सोध्नुभयोे।
मानव अधिकार आयोग गण्डकी प्रादेशिक प्रमुख चन्द्रकान्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवद्र्धन वकालत महाशाखा प्रमुख दिपेन्द्रबहादुर सिंहले चालु पाँचौ राष्ट्रिय कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने कार्यक्रमको सहजीकरण आयोगका अधिकृत टंक खनालले गर्नुभएको थियो ।
महिला तथा बालबालिकामा शारिरीक एवं मानसिक हिंसा बढ्नुका साथै आत्महत्याका दर अत्याधिक रहेको जनाउदै प्रहरी प्रमुख बागटीले जिल्लामा एउटा ‘सेफ हाउस’ अत्यावश्यक रहेको तथ्यगत सूचना सहित सुझाव दिनुभयो । उहाको सुझावपछि आयोगका सदस्य थापाले यस बारेमा आफुले तत्काल पहल गर्ने जानकारी गराउनुभयो ।
तस्विरः भवानी अधिकारी÷स्याङ्जा

 

 

 

Facebook Comments Box
TOP