बझाङमा पहिरोले २४ जना बेपत्ता, सयौं विस्थापित ।
बझाङ:
बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका-४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र हाल सम्पर्कमा आएका छन् । यतिबेला पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिइरहेका छन् । पूरा गाउँ पहिरोको जोखिममा परेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए ।
पहिरो पीडितको उद्वारमा खटिएको प्रहरी टोली डिक्ला पुगे पनि पहिरो खसिरहेका कारण उद्धार हुन नसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । ‘पहिरोमा एक जनाको आधा शरीर देखिएको भन्ने खबर आएको छ । पहिरो खसिरहेकाले उद्धार काम हुन सकेको छैन,’ उनले भने ‘ बाटो अवरुद्ध भएकोले थप बल त्यता पठाउन पनि सकिएको छैन ।’
यस्तै आइतबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण जिल्लाभर जनजीवन अस्तव्यस्त भएको छ । पहिरोले जयपृथ्वी नगरपालिका -१ पिमी गाउँमा मात्रै ६० परिवार विस्थापित भएको स्थानीयले बताएका छन् । ‘पानी पर्न रोकिएको छैन । मंगलबार राति पनि यस्तै पानी पर्यो भने गाउँ नै बगाउने अवस्था छ,’ स्थानीय उत्तम सिंहले भने । यस्तै लगातारको वर्षासँगै सदरमुकाम नजिक भएर बग्ने डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल बगाएको छ । पुल नजिक रहेका ५ वटा पक्की घर पनि बगाएको र बजारका अरु घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।
पहिरोले जिल्ला जोड्ने जयपृथ्वी राजमार्ग लगायत जिल्लाभित्रका सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । सोमबारदेखि नेपाल टेलिकमको संचार सेवा पूर्ण रुपमा अवरुद्ध छ भने एनसेलको सेवा आंशिक रुपमा सूचारु छ । ठाउँठाउँमा पोल ढलेका कारण जिल्लाभरको विद्युत सेवा अवरुद्ध छ । सदरमुकाम चैनपुर लगायत दर्जन बढी ठाँउको खानेपानी सेवा पनि अवरुद्ध भएको बताइएको छ । जिल्लाभर मोबाइल सेवा पनि अवरुद्ध भएकाले कुन ठाउँमा कति क्षति भयो भन्ने यकिन विवरण नआइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । ‘टेलिफोन सम्पर्क विच्छेद छ । बाटो बिजुली बन्द भएकोले कहाँ कति क्षति भयो केही थाहा हुन सकेको छैन ।’ File-Pic
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


