एमालेका पूर्वसांसद इच्छाराज तामाङ पक्राउ, ४६ करोड ठगीको उजुरी ।
नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सिआइबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।
व्यापारिक साम्राज्य विस्तार गर्न खोजेका तामाङ अधिकतर समय विवादित रहे । तर, राजनीतिक आड र दबाबमा जोगिइरहे । सिभिल ग्रुपका विभिन्न संस्था र कम्पनीमा बचत रकम जम्मा गरेका ३२ सय सर्वसाधारणको ७ अर्ब रुपैयाँभन्दा बढी रकम डुबाएर उनी फरार रहेका थिए । उनले सबैभन्दा धेरै ठगी सिभिल सहकारीबाटै गरेका थिए । राजनीतिक आडभरोसाकै कारण उनीविरुद्ध केन्द्रदेखि प्रदेश सरकारसम्मले बचतकर्ताको हितमा कदम चालेको थिएन । नियामक सरकारी निकाय पनि मौन थियो ।
उनले सिभिल ग्रुपअन्तर्गतकै सिभिल होम्स प्रालिलाई सहकारीमार्फत ८ अर्ब १ करोड ३७ लाख ११ हजार २११ रुपैयाँ ३७ पैसाभन्दा बढी रकम प्रवाह गरेका थिए । सहकारीका बचतकर्तालाई उनले बाउन्स चेक दिँदै झुलाउने गरेका थिए ।
उनले सिभिल सहकारीको अध्यक्षमा मामाससुरा केशवलाल श्रेष्ठलाई नियुक्त गर्न सफल भएका थिए । सिभिल ग्रुपको नेतृत्वमा आफू र आफन्तको जालो फैलाएका उनले ललितपुरको सुनाकोठीमा सिभिल होम्स–३ बनाउने भन्दै रकम असुलेका थिए । तर, उपभोक्तालाई रितपूर्वक परियोजना हस्तान्तरण नै गरेका थिएनन् । उल्टै, संरचनामा ताला लगाउने र दुःख दिने गरेका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७६ माघ ९ गते तामाङको सम्पत्ति रोक्का गरेको थियो । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नै भेटिएको थिएन । विभिन्न २४ वटा कम्पनीमा तामाङको संलग्नता भेटिएको थियो ।
सिभिल सहकारी संस्थाको ऋण विवादमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट आफ्नो पक्षमा फैसला गराउन पनि तामाङले निकै चलखेल गरेका थिए । शेयर सदस्यले हालेको मुद्दा असफल बनाउन तामाङ आफैँ फुटकर निवेदन लिएर पुगेका थिए भने मामाससुरा श्रेष्ठलाई पनि मुद्दा हाल्न लगाएका थिए ।
उम्कन नसक्ने स्थिति बनेपछि उनले आफ्ना केही सम्पत्ति बेचेर ऋण तिरेका थिए । तर, धेरै बचतकर्तालाई उनले बिल्लिबाठ नै पारेका छन् ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


