गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरु ।

वालिङ: स्याङ्जाको गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरु गरिएको छ । गल्याङ नगरपालिकाको व्यवस्थापनमा वडा नं ३ बल्पुकमा सञ्चालन हुँदै आएको अस्पतालले पहिलो पटक दन्त उपचार सेवा सुरु गरेको हो ।

रोटरी क्लब अफ काठमाडौँ नर्थको पहलमा रोटरी क्लब अफ उक जिङजङ न्यू ताईपेय/ताईवान र रोटरी क्लब अफ आइआरडीको सहयोगमा दन्त उपचार सेवा सुरु गरिएको अस्पताल प्रशासक थानापति न्यौपानेले जानकारी दिए ।

रोटरी क्लबले मेसिन तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो भने कान्तिपुर डेन्टल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सेवा थालिएको उनले बताए ।

अस्पताल, रोटरी क्लब र कान्तिपुर अस्पतालबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार दुई वर्षसम्मको सञ्चालन तथा व्यवस्थापन रोटरी क्लब र कान्तिपुर डेन्टल अस्पतालले गर्ने तथा त्यसपछि अस्पतालले व्यवस्थापन गर्ने छ । सुरुआतका क्रममा कान्तिपुर डेन्टल अस्पतालले दुई दन्त विशेषज्ञ उपलब्ध गराएको छ ।

यसअघि दाँतका बिरामीले निजी क्लिनिकमा चर्को मूल्य तिर्नुपर्ने वा पाल्पा, पोखरा, वालिङलगायतका अस्पतालबाट सेवा लिँदै आएका थिए ।

स्थानीय अस्पतालले ठाउँ, कान्तिपुर डेन्टल शिक्षण अस्पतालले दक्षजनशक्ति र रोटरी क्लबले अन्य आवश्यक औंजार तथा उपकरण उपलब्ध गराउने सम्झौता भएको रोटरी क्लब अफ काठमाडौँ नर्थका पब्लिक ईमेज अध्यक्ष एवं कान्तिपुर डेन्टल शिक्षण अस्पतालका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए ।

Facebook Comments Box
TOP