बाढीपहिरो क्षति अपडेट: १०३ जनाको मृत्यु, ४० जना घाइते ।

काठमाडौं:
अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको छ।
बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६२ जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय ३ जनाको मृत्यु भएको हो। १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते रहेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको उनले जनाए।

बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन्। ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ। विपदका घटनाबाट १ हजार १ सय ७७ वटा घरपरिवार विस्थापित भएका छन्।

Facebook Comments Box
TOP