बाढी-पहिरो अपडेट: मृत्यु हुनेको संख्या ४८ पुग्यो, ४३ सम्पर्कविहीन

काठमाडौं ।

शनिबार रातिदेखि देशभर भएको भारी वर्षापछि आएको बाढी‚ पहिरो र डुबानमा परी दिँउसो १२ बजेसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।४३ जना बेपत्ता भएका छन् ।

गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा ९ जना छन् । दुई जिल्लामा पहिरोले मानवीय क्षति गराएको हो । पहिरोले हुम्ला, धनकुटा र पाँचथरमा ६–६ जनाको मृत्यु भएको छ । यस्तै पहिरोले बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । पहिरोमा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँच सहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएको  मन्त्रालयले जनाएको छ । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् ।

असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो । यो क्रम अहिले पनि जारी छ । हराएकाहरूको खोजीकार्य र फसेकाहरूको उद्धारकार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिएका छन् ।

Facebook Comments Box
TOP