यस्तो छ स्याङ्जा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार इन्द्र रिजालको परिचय

स्याङ्जा :
स्याङ्जा पत्रकार समाज नेपालका संस्थापक एवं अध्यक्ष, नेपालबहस डटकमका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार श्री इन्द्रबहादुर रिजाल बौद्धिक व्यक्तित्वका धनी हुनुहुन्छ । पत्रकारितामा निडर, निर्भिक र तीखो टिप्पणीको व्यवसायिक पहिचान बनाएका रिजालले बिगत २९ बर्षदेखि नेपाली पत्रकारिताको मूलधारमा रहेर नेपाली कांग्रेसलाई बलियो बनाउने अभियानमा निरन्तर सक्रिय हुनुहुन्छ ।

विधि, पद्दति र निष्ठाका प्रतिमूर्ति रिजाल ०४५ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील हुनुहुन्छ । ०४६ सालको ऐतिहासिक जनआन्दोलनमा नवज्योति माविको नेविसंघ ईकाई सभापति, ०४८/०५० मा पोखरा बहुमुखि क्याम्पस नेविसंघ ईकाई सभापति, ०५१ देखि ०५५ सम्म नेविसंघ स्याङ्जाको उपाध्यक्ष, शंकरदेव क्याम्पस नेविसंघको इकाई सभापतिका रुपमा उहाँले कांग्रेसको संगठन निमार्णमा अंहम योगदान पुर्याउनु भएको छ ।

तीक्ष्ण बौद्धिक क्षमताका धनी रिजालले देशकै प्रतिष्ठित शंकरदेव क्याम्पसबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर(एमकम) हासिल गर्नुभएको छ । अमेरिकाको फ्लोरिडास्थित ईन्टरनेशनल एकेडेमी अफ सोसियल साइन्सेजबाट मानार्थ बिद्यावारिधि (पीएचडी) को उपाधि पाएका वरिष्ठ पत्रकार रिजाल लायन्स क्लब अफ काठमाडौं समृद्धिको पब्लिक रिलेशन निर्देशक, रोटरी इन्टरनेशनल लगायतका दर्जनौं सामाजिक संस्थामा पनि आबद्ध हुनुहुन्छ ।

गतबर्ष मात्र नेपाल पत्रकार महासंघ काठमाडौंबाट वरिष्ठ पत्रकारको पदवीबाट सम्मानित एवं पुरस्कृत हुनुभएको थियो । हाल नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य रहनु भएका रिजालले पत्रकारिता र राजनीतिका माध्यमबाट लोकतन्त्र, मानवअधिकार र बीपी विचारको संस्थागत विकासमा निस्वार्थभावले महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको छ ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहनु भएका रिजाल सक्रिय राजनीति मार्फत देशको समग्र बिकासकालागि काम गर्न अगाडि बढेको बताउनु भएको छ ।

Facebook Comments Box
TOP