एमाले फुटको असर: प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त ।

विराटनगर:
पार्टी विभाजनपछि प्रदेश सरकार बचाईराख्नका लागि मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि अब प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद भीम आचार्य नियुक्त हुुनुभएको छ । उहाँले आजै शपथ पनि लिनुभएको छ ।

शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।नेकपा एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएपछि राईको स्थानमा आचार्यलाई मुख्यमन्त्री बनाइएको हो । निवर्तमान मुख्यमन्त्री शेरधन राईलेनै आचार्यलाई दलको नेतामा प्रस्ताव गर्दै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिनुभएको थियो ।

पार्टी विभाजनअघि आचार्य माधव नेपाल समूहमा हुनुहुन्थ्यो भने राई ओली समूहमा हुनुहुन्थ्यो । मुख्यमन्त्री बन्ने भएपछि उहाले नेपाललाई छोडेर ओलीपक्षलाई साथ दिनुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै सञ्चारकर्मीसँग आचार्यले सरकारले बहुमत जोगाउने दाबी गर्नुभयो । आचार्यले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गरेर सरकारले बहुमत पुर्‍याउने बताउनुभयो ।

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ। एमालेका ५१ मध्ये १ जना सभामुख, १ जना गुलेफुन मियाँलाई मुद्दा लागेको कारण हाल एमालेका ४९ जनामात्रै सांसद छन् तर एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद लाग्नेछन् भन्ने विषयले आचार्यको सरकारले बहुमत पाउने नपाउने टुग्गो गर्नेछ । एकीकृत समाजवादीतिर ६ जना सांसद मात्रै लागेमा पनि आचार्यलाई बहुमत पुर्‍याउन कठिन हुनसक्छ । तर, आचार्यले प्रदेशसभामा एमालेकै बहुमत सदस्य कायम हुने विश्वास व्यक्त गर्नुभएको हो ।

Facebook Comments Box
TOP