गण्डकीमा एमालेले बनायो छायाँ सरकार : स्याङ्जाका मोहन रेग्मीले पनि पाए जिम्मेवारी

पोखरा : नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार बनाएको छ । एमाले संसदीय दल अन्तर्गतको संसदीय बोर्डको शुक्रबारको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको हो । दलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार ती समितिले विषयगत मन्त्रालयका कार्यप्रगति हेर्नेछन् । ‘प्रदेशमा ११ मन्त्रालय छन्, ९ समितिले सबै मन्त्रालयको काम हेर्ने गरी संसदीय समूह बनाएका छौं,’ अधिकारीले भने ।

शुक्रबार बनेका समूहहरुले मन्त्रालयका बजेट, योजना, कार्यान्वयनका पक्ष हेर्ने अधिकारीले बताए । अधिकारीका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजक पूर्वमन्त्री रामशरण बस्नेत छन् । समूहमा रोशन गाहामगर र प्रभा कोइराला सदस्य छन् ।

यस्तै सामाजिक विकास समूहमा नरदेवी पुन मगरको संयोजकत्वमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य चुनिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण समूहको संयोजकत्व विकास लम्सालले गर्नेछन् । समूहको सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार रहेका प्रमुख सचेतक अधिकारीले बताए ।

यस्तै अर्को समूह कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूह छ । यसको संयोजक चन्द्रमोहन गौचन छन् भने सदस्यमा पुष्पा केसी भण्डारी चुनिएकी छन् । इन्द्रलाल सापकोटाको नेतृत्वमा अर्थ समूह गठन भएको छ । यस समूहको सदस्यमा कृष्णबहादुर थापा छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकत्व मोहनप्रसाद रेग्मीले गर्नेछन् । समूहमा मायानाथ अधिकारी र मीना गुरुङलाई सदस्य बनाइएको छ ।

मनबहादुर गुरुङ, महेन्द्र थकाली सदस्य रहेको भूमि, व्यवस्था,कृषि समूहको नेतृत्व मित्रकुमारी गुरुङले गर्नेछिन् । ऊर्जा, खानेपानी समूहको संयोजक मीनप्रसाद गुरुङ बनेका छन् भने धनञ्जय दवाडीलाई समूह सदस्य बनाइएको छ । स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको संयोजकत्व राजीव पहारीलाई दिइएको छ । समूहको सदस्यमा जूनादेवी नेपाली र सावित्रा राना मगर छन् । रानालाई यसअघिको संसदीय दलको बैठकले दलको सचेतक चयन गरेको थियो । उक्त बैठकमा किरण गुरुङलाई दलको उपनेता बनाउने निर्णय पनि भएको थियो ।

एमाले नेतृत्वको सरकार जेठ २७ गते ढलेको थियो । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि कांग्रेस नेतृत्वको चार दलीय गठबन्धनको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका थिए । २९ जेठमा पोखरेलले अरु ४ मन्त्रीसहित मुख्यमन्त्रीको सपथ लिएका थिए । कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले १ जना स्वतन्त्र सांसदसमेत लिएर सरकार बनाएका थिए ।

Facebook Comments Box
TOP