ड्रागन खेतीमा आत्मनिर्भर बनाउदै कालीगण्डकी गाँउपालिका
तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले किसानलाई अभिप्रेरित गर्न ड्रागन फ्रुट खेतीको शुरुआत गरेको छ । गाउँपालिका वडा नं. ४ को पुछार भन्ने ठाउँमा स्थानीयको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर ड्रागन फ्रुट लगाएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । सिञ्चाईका लागि प्रर्याप्त पानी नचाहिने, यहाँको हावापानी, माटो सुहाउँदो खेती भएकाले विशेषगरी यस खेतीलाई नमूनाकोरुपमा अगाडि बढाएका हौं अध्यक्ष थापाले भने, ‘गाउँपालिकाले भन्दा पनि शुरुको चरणमा स्थानीय किसानहरु, कृषक समूह, सहकारीलाई यो खेती लगाउन गाउँपालिकाले प्रोत्साहन गर्ने नीति लियौं तर शुरुमा यहाँका लागि नयाँ भएकाले खासै रुचि नदेखाएपछि गाउँपालिकाले नै यो खेतीको ब्यवसायिक शुरुआत गरेको हो ।’ गतवर्ष ३ हजार बिरुवा लगाईएको थियो भने यसवर्ष एक हजार ८ सय बिरुवा थप गरी कूल ४ हजार ८ सय बिरुवा लगाईएको छ उनले भने ।
अध्ययन अनुसार सुख्खा ठाउँ, पानी थोरै भएपनि हुने र यहाँको हावापानी माटो अनुसार ड्रागन फ्रुटको संभावना बढी देखियो अध्यक्ष थापाले भने, ‘यसको ब्यवसायिक उत्पादन यहाँ संभव छ भन्ने देखाउँदै किसानलाई अभिप्रेरित गर्नका लागि पनि गाउँपालिका आँफैले खेतीको शुरुआत गरेको हौ ।’ अहिले गाउँपालिकाले ईच्छुक किसान, कृषक समूह तथा सहकारीहरुलाई बिरुवामा ५० प्रतिशत अनुदान, पोलमा शत प्रतिशत अनुदानसहित आवश्यक प्राविधिक तालीम तथा सहयोग उपलब्ध गराउँदै आएकाले किसानहरु ड्रागन फ्रुटप्रति आकर्षित हुँदै गएका छन् थापाले भने ।
गाउँपालिकाले अहिले बिरुवा उत्पादन गरी किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै आईरहेको अध्यक्ष थापाले बताए । उनका अनुसार ५० वटाभन्दा धेरै बिरुवा लगाउने किसान, समूहहरुलाई ५० प्रतिशत अनुदान तथा पोल निशुल्क उपलब्ध गराउँदै आएको छ । यो खेती विस्तारका लागि गाउँपालिकाले हालसम्म ८५ लाख लगानी गरिसकेको छ ।
ठूला–ठूला सम्म परेका बारीका पाटा भएर पनि सिंचाईको अभाव भएकाले गाउँपालिकाले सिंचाईका लागि लिफ्टिङ गरी पानी तानेर ब्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताए । गाउँपालिकाले नमूनाकोरुपमा थालेको ड्रागन फ्रुट खेतीबाट विस्तारै किसानहरु आकर्षित हुँदै गएकाले यहाँको किसान, समूह सहकारीका लागि आम्दानीको स्रोतकोरुपमा विकास गर्न सकिने धारणा अधिकृत ज्ञवालीको छ ।
किसान, समूह तथा सहकारीहरुले उत्पादन गरेका बिरुवा तथा फलको बजारीकरणको ब्यवस्थापन गाउँपालिकाले गरिदिने भएको छ । कालीगण्डकी गाउँपालिकाको गहना तथा नमूनाकोरुपमा यो खेती विस्तार गरिएको प्राविधिक गम्बरसिंह थापाले बताए । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र नयाँ नौलो खेती भित्रिनुकासाथै यहाका स्थानीयले रोजगारीसमेत प्राप्त हुने विश्वास लिइएको छ । गाँउपालिकाले शुरु गरेको यो अभियानमा स्थानीयको साथ रहने स्थानीय यादब पाण्डे(सुन्दर) ले बताए । सबै गाउपालिकावासी ड्रागन खेतीमा लाग्न सके भने आर्थिक स्तरोन्नती हुने विश्वास गाँउपालिकाको छ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


