मनाङका बाढी पीडितलाई गण्डकी सरकारबाट प्रतिपरिवार २ लाख राहत ।

krishna chandra nepali gandaki

पोखरा
गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई पुनर्निर्माण तथा क्षतिपूर्ति स्वरुप प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र अर्थमन्त्री रामजीप्रसाद बरालले सोमबार क्षतिग्रस्त ठाउँको स्थलगत अनुगमन गर्दै राहत कार्यक्रम घोषणा गरेका हुन् ।

जेठ दोस्रो साता र असार १ गते आएको बाढी, पहिरोले मनाङमा ८५ घर पूर्ण क्षति भएको थियो । बाढी, पहिरोबाट सबैभन्दा बढी नासों गाउँपालिकाले क्षति व्यहोरेको छ । नासों १, ताल गाउँका मात्रै ७० बढी घरमा क्षति पुगेको छ भने धारापानीमा १२ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । सडक, पुल, विद्युतमा क्षति पुर्‍याउँदा मनाङमा सडक यातायात सम्पर्क टुटेको छ ।

मस्र्याङ्दी नदीमा आएको बाढी कारण डुबानमा परेका तालगाउँमा बस्न नसक्ने र बस्ती स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनले देखाएको छ । उक्त प्रतिवेदन गृह मन्त्रालयलाई बुझाइसकेको छ । जिल्लाको प्रतिवेदनपछि मन्त्रालयले नेपाली सेनाको नेतृत्वमा स्थलगत अध्ययन गरेको थियो ।

Facebook Comments Box
TOP