प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने ।
काठमाडौँ :
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । संसद् सचिवालय स्रोतका अनुसार आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची पनि राखिएको छ ।
सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आजै ४ बजेदेखि सुरु हुँदै छ । आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतको प्रस्ताव संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरिसकेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वासको मत लिने सम्बन्धीको प्रस्ताव परामर्श समितिको बैठकमा लगेका थिए । कांग्रेस सचेतक पुष्पा भुसालले सरकारले ल्याएको प्रस्तावअनुसार नै कार्यव्यवस्था समितिले निर्णय गरेको जानकारी दिइन् ।
विघटनविरुद्धको रिटमा सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र साताभित्र बैठक बोलाउन परमादेश जारी गरेको थियो । चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि प्रधानमन्त्री देउवाले संसद्को पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन् ।
विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३ ), जसपा ३२ (उपेन्द्र यादव पक्ष–१९) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…