नवलपुरमा १५० भन्दा बढी घर डुबानमा ।

नवलपुर:

गत रातिदेखि परेको अविरल वर्षाले ल्याएको बाढीबाट नवलपरासी -बर्दघाट–सुस्तापूर्व (नवलपुर) को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् ।

गिरूवारी खोलामा आएको बाढि वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । स्थानीय बासिन्दाको घर गोठको भूइँतलामा पानी पसे पनि धेरै क्षति हुन भने नपाएको हुप्सेकोट-३ का वड़ाध्यक्षले जानकारी दिनुभयो ।

विसं २०५७ मा जापान सरकार र नेपाल सरकारको प्रयासमा जाइकाले निर्माण गरेको तटबन्ध नै पार गरेर खोला गिरुबारीको बस्ती तथा खेतमा पसेको हो । खेतमा बाढी पसेपछि करीब २० बिघा क्षेत्रफलमा लगाइएको धान नष्ट भएको जनाइएको छ ।

त्यहाँ करीब १०० बिघाको खेती प्रभावित बनेको छ ।  तटबन्धलाई तत्काल व्यवस्थित गर्न नसकिए थप क्षति व्यहोर्नुपर्ने स्थानीयवासी  बताएका छन । यसैबीच जल तथा मौसम विज्ञान विभागले नवलरासीको पूर्वी क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो १२ घण्टामा यसक्षेत्रमा १६७.८ मिलिमिटरसम्म पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस क्षेत्रमा भारी बर्षा भईरहेकाले विनयी खोला, आरुणखोला, गिरुबारी खोला, केरुङ्गे खोला, बौलाहा खोला लगायत यस क्षेत्रका स–साना खोलामा आकस्मिक रुपमा थप बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ । मनसुन शुरु भएपछि हरेक वर्ष यस क्षेत्रमा बाढी तथा पहिरोले दुःख दिने गरेको छ ।

 

Facebook Comments Box
TOP