आज हरिशयनी एकादशी तथा तुलसी रोप्ने दिन, के छ यसको अर्थ र महिमा ?

काठमाण्डौ:
आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई वैदिक शास्त्रहरूमा एउटा महत्वपूर्ण एकादशीका रूपमा लिईएको पाइन्छ । श्रृष्टिकर्ता भगवान विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी र असारे ठुली एकादशी पनि भनिन्छ ।
आजैबाट चीर निन्द्रामा गएका भगवान् विष्णु अर्थात हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउबाट उम्रेको बोटलाई आज रोपेर पूजा गरिन्छ ।
आजर्को भगवान् विष्णुको प्रतीकको तुलसीलाई रूपमा घर–घरमा रोप्ने गरिन्छ । तुलसीबिना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।
रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।
वैदिक सनातन दर्शनमा एकादशीको महत्व
वैदिक सनातन हिन्दू पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । चन्द्रको अवस्थिति अनुसार तय गरिएको तिथिको एघारौँ दिनलाई एकादशी भनिन्छ ।
वैदिक सनातन हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपाशना गर्ने दिनका रूपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीहरूको महिमा प्रष्टसँग वर्णन गरिएको छ । व्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।
हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि सुनाएको उल्लेख छ ।
चलिआएको प्राचीन किंवदन्ती अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख विरुवाहरूले हरियाली गुमाइसकेका थिए ।
राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ ।
किंवदन्ती तथा कथाहरूले जेसुकै भनेपनि राम्रो र सत्य–कर्म मानव जीवनको अमूल्य सम्पत्ति हो । सत्यपथतर्फ लम्किँदै जानुहोस्, प्रगति तपाईंको साथमा हुनेछ । तपाईंको दिन शुभ रहोस् ।
चतुर्मास व्रत आरम्भ
हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मका ४ महिना भगवान विष्णुले शयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यस बेला भगवान विष्णुले आफू शयन गर्ने हुँदा भगवान शिवलाई आफ्नो कार्यभार सुम्पेका हुन्छन् । तसर्थ, धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरूले विशेषगरी भगवान शिवको पूजा–आजा गरी व्रत बस्ने गर्छन् ।
भगवान विष्णु शयन गर्ने यो ४ महिनाभित्र श्रावणको व्रत, गणेश चतुर्थी, हरितालिका तिज, ऋषिपञ्चमी, नागपञ्चमी, नवरात्री, कोजाग्रत पूर्णिमा, गोवर्धन पूजा आदि जस्ता थुप्रै दिनहरूमा बसिने व्रतहरू चतुर्मास व्रत हुन् । यो ४ महिनाको समयमा आफ्नो शारीरिक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता परापूर्वकालदेखि रहिआएको छ।
असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदैछ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चर्तुमास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चर्तुमास सकिन्छ ।
विष्णु भगवान चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मङ्गल कार्यहरू जस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीपछि मात्र मङ्गल लगन तथा मुहुर्तहरू हुन्छन् ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…