आकर्षक पर्यटकीय गन्तब्य बन्दै भालुपहाडको झोलुंगेपुल

Bhalupahad Jholunge bridge

भवानी अधिकारी/स्याङजा: फेदीखोला गाउँपालिकास्थित भालु पहाडमा निर्मित झोलुंगे पुल पछिल्लो समय आकर्षक पर्यटकीय गन्तब्यको रुपमा चिनिन थालेको छ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा जोड दिँदै भालुपहाडस्थित सेतीखोलामाथि झोलुंगे पुल निर्माण गरेको अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए। उनले भने ‘पर्यटन प्रवर्द्धन र आयआर्जन बढाउने हाम्रो लक्ष्य हो।’

गाउँपालिकाको वडा नं. २ को वडाचौर र ३ का पातीहाल्ना गाउँलाई झोलुंगेपुलले जोडेको छ।जसका कारण भालुपहाडको रमणीय स्थलको शौन्दर्य बढ्नुका साथै पैदलघुमफिर गर्ने थलो बनेको हो।

पर्यटकीय स्थल भालुपहाडमा रहेका ठूला दुई पहाडलाई जोड्नेगरी निर्माण गरिएको पुलमा अहिले पनि दैनिक २ देखि ३ सय जनासम्म आउने गरेको स्थानीय किशोरी पुनम जि.टी.ले बताइन् । यहाँ आउनेमा अधिकांश पोखरा, आसपास र स्याङजाका छन्।

‘कोरोना संक्रमणको त्रासका बीच पनि मानिसहरु आउनेक्रम जारी छ। सानो समूहमा आउने र २÷४ घण्टा यतै बिताउँछन, फोटो खिच्दै रमाइलो गर्छन्। पुल हाम्रो गाउँलाई बजारसम्म जोडिएको छ। पर्यटकीय गन्तब्य बनेको छ। कोरोनाको महामारी नहुँदो हो त यहाँ आन्तरिक एवं वाह्य पर्यटक धान्नै सकिँदैनथ्यो होला’ उनले भनिन् ।

सिद्धार्थ राजमार्ग छेउमै रहेको भालुपहाड जिल्लाकै रमणीय स्थल हो। महामारीमा पनि यहाँ आउने संख्या रोकिएको छैन। राजमार्ग भइ हिँड्ने मानिसहरु पनि एकै छिन भए पनि रोकिएर, फोटो खिचेर र पहाडको अवलोकन गरेर आफनो गन्तब्यमा लाग्छन्।जिल्लाबासी पनि परिवार वा साथीहरुसँग मिलेर वनभोज अर्थात् २÷४ घण्टाका लागि मनोरञ्जन लिन यतै आउने गर्छन्।

आन्तरिक पर्यटनका लागि उपयुक्त स्थल रहेको बताउँछन् साइक्लिङ यात्रा गर्दै पोखरादेखि यहाँ आइपुगेका साइकल सिटी पोखराका सदस्य प्रताप बाँनिया।

अजंगको पहाड। हेर्दा भालु निदाए झैं आकृति देखिएकाले यस पहाडको नाम भालु पहाड राखिएको भन्ने किंवदन्ती छ। काला र ठूला चट्टानी पहाड केही वर्षयता हरियाली बनेका छन्।

झण्डै ३ सय मीटर गहिराइमा रहेको सेतीखोलाले एउटा थुम्को जस्तो पहाडलाई घेरेर बगेको छ। त्यही थुम्को अहिले सबैको आकर्षण बनेको छ। जहाँ बसेर प्राकृतिक वातावरणमा रमाउँदै वरपरको दृश्यावलोकन गर्दा रोमाञ्चित बनाउछ। पुलसँगै पैदल मार्ग र साइक्लिङ मार्ग निर्माणका काम जारी छन्।

‘कुभिण्डे, नुवाकोट, भालुपहाडलाई जोडेर हाइकिङ र साइक्लिङ मार्गले जोड्न ६० किलोमीटरको रिङरोड यात्रा तय गर्नेगरी गुरुयोजना बनाएका छौँ’ गाउँपालिकाका अध्यक्ष सुवेदीले भने ‘संघीय एवं प्रदेश सरकार, गाउँपालिका र निजी क्षेत्रको सहयोग र समन्वय गर्दै पर्यटनसँग जोड्न झण्डै ४५ करोडको गुरुयोजना बनेको छ।योजनामा गौतम बुद्ध, शिवको बिशाल मुर्ति बनाइने छ।जसले सिद्धार्थ राजमार्ग मार्फत लुम्बिनी र पोखरा जोड्नेछ । धार्मिक पर्यटनमा समेत प्रवर्द्धन गर्नेछ।’

पुल तरेर पारी पुगेपछि सुन्दर बस्ती देखिन्छ। गाउँले परिवेश र व्वसाय उन्मुख देखिएको बस्तीका गाउँलेहरु आ आफना घरमा तरकारीका टनेल, पशुपंक्षी र बाख्रापालनमा रमाएका छन्। पुलले यी सबलाई जोड्ने काम गरेको छ।

एक वर्षअघि निर्माण सुरु गरेको झोलुंगे पुल २ सय २१ मीटर लम्बाइको छ। करिब १ करोड ३८ लाख ५८ हजार १ सय ५० रुपैयाँको लागतमा गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा निर्माण गरिएको इन्जिनिर तारा पौडेलले बताए। पुल बनेसँगै यहाँको चहल पहल बढेको छ। स्थानीयबासीले होम स्टेदेखि रेष्टुरेन्ट सञ्चालन सम्बन्धी योजना बनाएको स्थानीय युवती जिटीले जनाइन् ।

Facebook Comments Box
TOP