मनाङमा बाढी: तालगाउँ डुबानमा, पुल र विद्युत्‌गृह बगायो ।

पोखरा:
लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युत्गृह, बेलिब्रिज र काठेपुल बगाएको छ भने तालगाउँको बस्ती पनि डुबानमा परेको छ ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । त्यसै गरि ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्‍याएको छ । नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ ।

तालगाउँका स्थानीय बासिन्दाका अनुसार मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दी भिरतर्फ आएको बताएका छन । गाउँमा टेलिफोन सेवा पनि अवरुद्ध छ । स्थानीय वेदबहादुर गुरुङले तालगाउँ डुबानमा परेको र हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था रहेको बताएका छन ।

जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्का अनुसार घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ । पुल थुनिँदा यसअघि बगाउन लागेको एउटा घर र थप काठका ३ वटा घर बगाएको उनले बताए । ‘ढुंगामुढाले पुल थुनिँदा बस्तीतिर बाढी पसेको छ । बाढी पस्दा घर बगाउन थालेको छ । बजार क्षेत्र नै जोखिममा परेको छ,’ उनले भने । उनका अनुसार तिमाङखोलाको बेलिब्रिज र ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत आयोजनाको संरचना पनि बाढीले बगाएको छ ।

 

Facebook Comments Box
TOP