विपद ब्यवस्थापनको पूर्व तयारीमा जुट्दै वालिङ

Bipada waling syangja

तोलाकान्त बगाले/वालिङ :
विपदका कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ को पहिलो र दोस्रो लहरको ब्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले जलबायु परिवर्तनका कारण हुनसक्ने संभावित क्षतिको न्यूनिकरणका लागि आवश्यक तयारीमा जुटेको हो ।
नगर प्रमुख एवं नगरस्तरीय विपद ब्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणको अध्यक्षतामा शुक्रबार बसेको बैठकले वर्षात्का समयमा बाढी, पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनिकरणलाई मध्यनजर गर्दै आवश्यक तयारी गर्ने निर्णय भएको हो ।
गतवर्षभन्दा यसवर्ष पानी धेरै आउने जल तथा मौसमविदहरुले पूर्वानुमान गरे अनुसार वालिङमा बाढी तथा पहिरो गई क्षति हुनसक्ने भएकाले जोखिमयुक्त बस्तीलाई विशेष ख्याल गर्ने बैठकले निर्णय गरेको छ । जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने, विपद न्यूनिकरणका लागि समयमै उद्धार गर्ने कार्यकालागि आवश्यक उपकरणहरुको खरीद गरी उद्धार कार्यलाई छिटो छरितो गराउने निर्णय भएको छ ।


वालिङ नगरभित्रका मनसुनजन्य विपदमा परी विभिन्न घरहरु भत्किने र पुर्नस्थापना तथा प्रबलीकरण गर्नपर्ने घरहरुको लागि नेपाल सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १५ प्रतिशत रकम बेहोर्ने ब्यवस्था भए बमोजिम वालिङ नगरपालिकामा स्वीकृत भई आएका घरहरुका लागि नगरपालिकाको तर्फबाट रकम जम्मा गर्ने निर्णय भएको छ । वालिङ नगरपालिकाभित्र गतवर्षको असारदेखिको वर्षाका कारण आएको पहिरो तथा बाढीका कारण पुर्नस्थापना गर्नुपर्ने घर संख्या ६३, प्रबलीकरण गर्नुपर्ने घर संख्या ८७ र पुनर्निर्माण गर्नुपर्ने घर संख्या ३६ रहेका छन् । त्यस्तैगरी वालिङ नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा रकम तथा जिन्सी सहयोग गर्ने, सवारी साधनहरु उपलब्ध गराउने, स्वयंसेवककोरुपमा कार्य गर्ने सहयोगी संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

Facebook Comments Box
TOP