सिद्धबाबामा सुरुङमार्ग बनाउन ठेक्का आह्वान

‘मृत्युमार्ग’को उपमा पाएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने निश्चित भएको छ ।

सडक विभागले आज (आइतबार) सुरुङ खन्नका लागि ग्लोबल टेन्डर आह्वान गरेको हो । ४५ दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान भएको सडक विभागको उपमहानिर्देशक विजय जैशीले लोकान्तरलाई जानकारी दिए । सुरुङमार्गको योजना अर्थमन्त्री विष्णु पौडेलले ल्याएका हुन् । टेन्डरका लागि ४५ दिनको समय रहेको छ ।

लामो समयदेखि यो योजना चर्चामा थियो । जैशीले भने, ‘स्वीस टिमले गरेको डिजाइनका आधारमा टेन्टर आह्वान भएको छ । जसमा १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) रहन्छ । जुन ७८० मिटरको हुनेछ ।’

सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्नेछ । सुरुङमार्गको लागि अर्थमन्त्रालयले १० अर्ब रुपैयाँको बजेट सीमा दिएको छ । त्यही सीमाभित्र रहेर सुरुङमार्ग बन्नेछ ।

एमालेका उपमहासचिव समेत रहेका अर्थमन्त्री पौडेलले सुरुङ निर्माणका सबै प्रक्रिया सुुरु गरेर समयमै काम सुरु हुने बताए । उनले आयोजना निर्धारित मितिमै सम्पन्न हुने समेत जानकारी दिए ।  सिद्धबाबामा खसिरहने पहिरोबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण रहने नेता पौडेलको भनाइ छ ।

यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । हिउँदो होस या वर्षायाम जुनुसकै बेला झर्ने चट्टान सहितको पहिरो खस्दा यात्रुले अकालमै मृत्यु हुुने गरेको छ ।

रुपन्देहीको चिडियाखोलादेखि पालपाको दोभानसम्म यस क्षेत्र अत्यन्तै जोखिमपूर्ण छ । दैनिक ५ हजारभन्दा बढी सवारी साधान यो सडकबाट आवत जावत गर्छन । आयोजना बन्ने भएपछि यस क्षेत्रमा जनता खुसी भएका छन । लोकान्तर डटकमबाट

Facebook Comments Box
TOP