लुम्बिनीमा राष्ट्रियसभा सदस्य चुनाव हुदै,काँग्रेसका पाण्डे र एमालेका खड्का बीच प्रतिपर्धा ।
दाङ : एमालेबाट प्रदेशसभा सदस्य राजीनामा दिएर काँग्रेस प्रवेश गरेका दीर्घनारायण पाण्डे र माओबादीबाट एमाले गएका चन्द्रबहादुर खड्का को राष्ट्रियसभा सदस्य पदको उम्मेद्वारीको लागि आज दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुदैछ ।
चन्द्रबहादुर खड्कालाई एमाले र दीर्घनारायण पाण्डेलाई नेपाली काँग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले मैदानमा उतारेकाछन् । नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका कारण माओवादीले गरेको कारबाहीपछि राष्ट्रियसभा सदस्य पद गुमाएका खड्कालाई एमालेले उम्मेदवार बनाएको छ भने , पाण्डे एमाले प्रदेशसभा सांसद पदबाट राजीनामा दिएर काँग्रेसबाट राष्ट्रियसभामा उम्मेदवार बनेका हुन् । यिनै कारणले आ-आफ्नो उम्मेदवारलाई जिताउनु दुबै पक्षलाई प्रतिष्ठाको विषय बनेको छ । लुम्बिनीमा प्रदेशसभा सदस्य ८३ र स्थानीय तहका प्रमुख–उपप्रमुख २१७ जना गरी राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा २९९ मतदाता छन् । खड्कालाई एमाले र जसपा (ठाकुर पक्ष)को समर्थन छ तर पनि उनलाई एमालेकै माधव नेपाल पक्षले साथ नदिने संकेत देखिन्छ । पाण्डेलाई काँग्रेसका उम्मेदवार भएपनि नेकपा माओवादी केन्द्र, जसपा (उप्रेन्द्र–बाबुराम) र राष्ट्रिय जनमोर्चाको समेत समर्थन छ ।
८७ जना सदस्य रहेको लुम्बिनीमा प्रदेशसभाले जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई जना र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना सांसदको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो । प्रदेशसभा सचिवालयले निर्वाचन आयोगमा पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ । कार्यालयले जेठ ३ गते नै अन्तिम नामावली प्रकाशन गरेको हो ।
वैशाख ६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना पार्टीका चारजनालाई जसपा संसदीय दलले सांसद पद नै नरहने गरी कारवाही गरेको थियो । तर, चार मन्त्रीले उक्त कारवाहीविरुद्ध सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले ३ जेठमा उनीहरूलाई कारबाही गर्ने निर्णय १६ जेठसम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशपछि उनीहरू अहिले प्रदेशसभा सदस्यको हैसियतमा छन् । तर, प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले भने अन्तिम नामावली प्रकाशित भएपछि सर्वोच्चको फैसला आएकाले मतदाता नामावलीमा मन्त्रीहरुको नाम नरहेको बताएका थिए । मन्त्री सन्तोष पाण्डेयले आफूहरुलाई अदालतले नै सांसदको रुपमा काम गर्न दिन भनेर आदेश दिइसकेका कारण मताधिकारबाट बञ्चित नहुने दावी गरेका छन । उनले आफुहरु अदालतको प्रमाण लगेर मतदानका लागि जाने बताए ।
यो निर्वाचनमा एकजना प्रदेश सभा सदस्यको मतभार ४८ रहन्छ। ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ छ। स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष – उपाध्यक्ष गरी २१७ मतदाता छन्। उनीहरुको कुल मतभार ३ हजार ९ सय ६ छ। प्रदेश र स्थानीय तह जोडेर कुल मतभार ७ हजार ८ सय ९० पुगेको छ । ४ जना सांसदले मतदान गर्न पाउँदैनन्। यो उपनिर्वाचनमा प्रदेश सभाका कुल ८७ सांसद रहेपनि कारवाहीमा परेका थप चार जना सांसद मतदानबाट वञ्चित हुने भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पार्टीको कारवाहीमा परी पदमुक्त हुँदा मतदान गर्न पाउने छैनन्। त्यस्तै, दाङबाट निर्वाचित एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएको हुँदा उनले पनि मतदाधिकार पाउने छैनन्। विपक्षी गठबन्धनका राष्ट्रिय सभाका उम्मेदवार पाण्डेले पनि पदबाट राजीनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेको हुँदा उनी पनि मतदानबाट वञ्चित रहनेछन्।
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…