गण्डकीका थप ६९९ मा कोरोना पुष्टि, स्याङजाका २ सहित १२ काे मृत्यु ।

स्याङजा  : आइतबार  गण्डकीमा थप ६९९ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका  ६९९ जनामा संक्रमण पुष्टि भएको हो।

आज कास्कीमा ४३० जना, तनहुँमा ७७ जना, गोरखामा १०४ जना, लमजुङमा १५ जना र नवलपुरका एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै स्याङ्जामा २६ जना, पर्वतमा २२ जना, बाग्लुङमा २१ जना, म्याग्दीमा २ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज गण्डकीमा पुष्टि भएकासंगै कोरोना संक्रमितको कूल संख्या  २३ हजार २२९ पुगेको छ । जहाँ ५ हजार २०१ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २१४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ७६५ पुगेको छ ।

आइतबार गण्डकीमा कोरोना संक्रमणका कारण अहिलेसम्मकै उच्च संख्यामा मृत्यु पुष्टि भएको छ ।  पोखराका विभिन्न अस्पतालमा उपचारत १२ जना संक्रमितको आइतबार मृत्यु पुष्टि भएको हो ।

मृतकहरु कास्कीका छ जना, पर्वतका दुई जना, म्याग्दीका एक जना र स्याङ्जाका दुई जना गरी १० जना छन् भने, एक जना रुपन्देही जिल्ला घर भइ हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत ६० वर्षीय पुरुष रहेका छन् ।

आज मृत्यु पुष्टि भएका १२ संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २६३ पुगेको निर्देशनालयले जनाएको छ।

Facebook Comments Box
TOP