गल्याङमा कोरोनाको परिक्षण तिव्र,परिक्षणको दायर बढाउन माग गर्ने नै डराए परिक्षण गर्न ।

corona test

गल्याङ : स्याङ्जाको गल्याङ बजारमा कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्ने क्रममा एक जना मात्रै पोजिटिभ देखिएको छ ।
गल्याङ नगरपालिकाको मुख्य बजार क्षेत्र गल्याङबजारका स्थानीयवासीहरुका लागि गरिएको परिक्षणमा १ जनामा मात्रै नतिजा पोजिटिभ आएको हो ।
बजार क्षेत्रमा कोरोना भाइरसको अवस्थाबारे निक्र्योल गर्न गल्याङ नगरपालिकाले गल्याङको नयाँबजारमा एण्टिजिन परिक्षण गरेको थियो । गल्याङ नगरपालिका स्वास्थ्य शाखा संयोजक गुनेन्द्र राना, गल्याङ नगर अस्पतालका चिकित्सक निरञ्जन चौधरी सहितको टोलीले एण्टिजिन परिक्षण गरेको हो ।
गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले बजार क्षेत्रमा घर घर पुगेर निशुल्क परिक्षण गर्ने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
बजार क्षेत्र खोल्न हुने कि नहुने वा कतिसम्म खोल्ने भन्ने बारे निर्णय गर्न बजार क्षेत्रमा नै परिक्षण गरिएको उहाँले बताउनुभयो ।
वडाध्यक्ष भट्टराईले केहीले परिक्षण गर्न नै नचाहेको जानकारी दिदै इच्छुकहरुलाई निशुल्क परिक्षण गरिएको बताउनुभयो ।
गल्याङ नगरपालिकामा अहिले कोरोनाको संक्रमण कमी भएको स्वाथ्य शाखा संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो ।
संक्रमणको दर कमी भए पनि साबधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना गर्न भने छोड्न नहुने उहाँले बताउनुभयो ।
कोरोनाको नयाँ नयाँ भेरियण्ट आउने क्रम चलिरहेको र सुस्त गतिमा भए पनि संक्रमण फैलने क्रम रहेकाले अझै पनि उच्च साबधानी अपनाउनुपर्ने रानाको भनाई छ ।
यसअघि गल्याङ नगरपालिकाले विरामीको संख्या बढेको भन्दै गल्याङ नगरपालिकाको वडा नम्बर ११ गिनचौरमा पुगेर एण्टिजिन परिक्षण गरेको थियो । सो क्रममा ६१ जनाको एण्टिजिन परिक्षण गरिएकोमा एक जनामा मात्र नतिजा पोजिटिभ देखिएको थियो ।
आवश्यकताको आधारमा अन्य ठाउँहरुमा पनि पुगेर परिक्षण गर्ने गल्याङ नगरपालिकाले आग्रह गरेको छ । महामारी नियन्त्रणका लागि परिक्षण गर्नुपर्ने भएकाले नगरपालिकाले तोकेका ठाउँहरुमा निशुल्क परिक्षण गराई सहयोग गर्न नगरपालिकाले आह्वान गरेको छ । तर लक्षण देखिएका र नदेखिएकाहरुले समेत परिक्षण गर्न भने रुची नदेखाएको पाइएको छ ।
गल्याङ नगरपालिकाले पोजिटिभ देखिएकाहरुलाई औषधी उपचारको व्यवस्था र गम्भिर विरामीका लागि अस्पताल ल्याउने व्यवस्था पनि मिलाएको जनाएको छ । यद्यपि सबै ठाउँमा परिक्षण गर्न माग गर्ने तर आफुले परिक्षण गर्न भने डराउने प्रबृत्ति रहेको देखिएको छ ।

Facebook Comments Box
TOP