दुध विक्री नभएमा गल्याङमा ल्याउनु : नगर प्रमुख अधिकारी

milk_pic_jholpe

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका ८, झोल्पेमा रहेको श्री गाउँसुधार दुग्ध उत्पादक सहकारी संस्थाको साधारणसभा बुधबार सम्पन्न भएको छ ।
झोल्पेमा रहेको आफ्नै भवनमा बुधबार २७ औं साधारणसभा सम्पन्न गरिएको हो
साधारणसभाको उद्घाटन समारोहमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले दुध विक्रीको ग्यारेण्टी नगरपालिकाले लिएको भन्दै ढुक्क भएर दुध उत्पादनमा लाग्न कृषकहरुलाई आग्रह गर्नुभयो ।
उहाँले नगरपालिकाको दुध विक्रीका लागि कुनै दिन पनि समस्या नहुने भन्दै उत्पादन बढाउन आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘दुध फाल्नुपरेमा लिटरमा नापेर मात्रै फाल्नुहोला, त्यसको क्षतिपुर्ति नगरपालिकाले दिन्छ ।’
उहाँले आसापासका पालिकाहरुमा दुध विक्रीको समस्या भएको प्रसङ्ग निकाल्दै त्यस्तो अवस्था आएमा गल्याङमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘दुध बेच्ने योजना हामीसँग छ, त्यसैले दुध विक्री नहोला भनेर चिन्ता लिनुपर्ने अवस्था छैन ।’ उहाँले खाडी मुलुकमा कमाउने पैसा अब गल्याङमा कमाउन सकिने अवस्था आएको भन्दै कृषि र पशुपालन नै अहिलेको महत्वपूर्ण रोजगारी रहेको बताउनुभयो ।
गल्याङका विभिन्न ठाउँमा कृषकहरुले पशुपालनबाट राम्रो आम्दानी गरिरहेको उदाहरण दिदै नगरप्रमुख अधिकारीले दुई वटा गाई पालेमा महिनामा ५० हजार बचाउन सकिने दावी गर्नुभयो ।
नगरप्रमुख अधिकारीले नगरपालिकाले दिइरहेको लिटरमा १५ रुपैयाँ अनुदानको व्यवस्थाले सबै किसानलाई फाइदा पुगिरहेको भन्दै यसको सकेसम्म धेरै सदुपयोग गर्न आग्रह गर्नुभयो । अनुदान धेरै भएकाले सधैं दिन नसकिने कुरा विभिन्न ठाउँबाट आएको भन्दै उहाँले अनुदान बरु बढ्ने तर नघट्ने बताउनुभयो ।
झोल्पेमा रहेको दुग्ध सहकारी संस्थामा वालिङका किसानहरुले पनि दुध संकलन गरेको र १५ रुपैयाँ अनुदान माग गरेको सन्दर्भमा नगरप्रमुख अधिकारीले वालिङका किसानलाई अनुदान दिन नसकिने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘गल्याङकै नागरिकता वा मतदाता परिचयपत्र अनिवार्य हुन्छ, मलाई दिन इच्छा भएपनि कार्यविधिले नमिल्ने भएकाले गल्याङ बाहिरका किसानलाई अनुदान दिन नसकिने अवस्था छ ।’
गल्याङका किसानलाई भने अनुदान वितरणमा कुनै भेदभाव नभएको भन्दै उहाँले उत्पादनका आधारमा दुध बेच्नेले अनुदान पाउने भएकाले यसमा जाती पार्टी नहुने स्पष्ट पार्नुभयो । गाइ किन्नका लागि एक वर्ष निव्र्याजी रकम, निशुल्क विमा, लिटरमा १५ रुपैयाँ अनुदान जस्ता व्यवस्था गरिएको भन्दै नगरप्रमुख अधिकारीले सेतो सहर बनाउने अभियानमा सहयोग गर्न अपिल गर्नुभयो ।
कार्यक्रममा गाउँसुधार दुग्ध उत्पादक सहकारी संस्थाका संस्थापक अध्यक्ष ढाकाराम अर्यालले ठूलो मिहनेतका साथ संस्था बचाइएको भन्दै अहिले नगरपालिकाले दिएको साथको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले उत्पादन बढाई अनुदान लिन र सम्बृद्धितर्फ लाग्न आग्रह गर्दै दुधका उद्योगहरुको विस्तारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल कफि व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीले दुध विक्री संगै यसका परिकारहरुको पनि विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
वालिङ नगरपालिका वडा नम्बर १३ का अध्यक्ष आनन्द पाठकले कृषि र दुध उत्पादनका क्षेत्रमा गल्याङले गरेको कामको प्रशंसा गर्दै वालिङलाई पनि अनुदानको व्यवस्थाका लागि माग गर्न किसान एकजुट हुनुपर्ने बताउनुभयो ।
गल्याङ नगरपालिका पशुसेवा शाखा प्रमुख सुशिल अर्यालले किसानलाई आवश्यक पर्ने प्राविधिक र अन्य सहयोग गर्न शाखा सधैं तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर आठ का सदस्य घनश्याम अर्याल, सिद्धशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक बुद्धिसागर भण्डारी लगायतले पनि बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष निमराज खरालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव नेत्र रानाले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP