स्याङ्जामा १६ महिनामै चार सिडिओ फेरिए

भवानी अधिकारी/ स्याङजा:

पछिल्लो १६ महिनाको अवधिमा स्याङ्जामा ४ जना प्रमुख जिल्ला अधिकारी हेरफेर एवं सरुवा भएका छन् ।

संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि सरुवा भइ गएका तत्कालिन प्रजिअ कोशहरि निरौलापछि हालसम्म ४ जना प्रजिअ स्याङ्जा सरुवा भइ आइसकेका छन्।

प्रजिअ निरौलाको १८ महिना बसाइपछि सरुवा भएको थियो। प्रजिअ निरौलाको २०७६ कात्तिक महिनामा सरुवा भएको हो। तर, त्यसपछिका प्रजिअका भने बसाइ अवधि ७ महिना पनि कट्न पाएनन् । निरौलापछि सरुवा भइ आएकाहरु क्रमश: रामबहादुर कुरुम्वाङ, गंगा बहादुर क्षेत्री, उमेश बस्नेत र दीपकराज नेपालले कार्यकाल चलाए ।

प्रजिअ कुरुम्वाङ ७ महिना, क्षेत्री ४ महिना र बस्नेतले पनि ५ महिनामात्र जिल्ला बस्ने मौका पाए। नेकपा सरकारले यति छोटो अवधिमै प्रजिअ सरुवा गरिदिँदा नियमित काममा बाधा पर्ने कर्मचारीहरुको गुनासो छ ।

स्थानीय नागरिक अगुवा राम शर्मा भन्छन् ‘अन्य जिल्लावाट सरुवा भइ आउनेलाई ५/६ महिना त सोही जिल्लाकै अवस्थाका बारेमा बुझ्न समय लाग्छ ।’

एकजना निजामति कर्मचारी भन्छन् ‘यसरी छिट्छिटो सरुवा गर्दा कर्मचारीको काम गर्ने मनोवल गिराउँछ।’स्याङ्जामा सहसचिव तहका प्रमुख जिल्ला अधिकारीको दरबन्दी छ।

सरकारको त्यसतर्फ पनि ध्यान पुगेको देखिँदैन। यसअघि, उपसचिवलाई पनि प्रजिअको जिम्मेवारी दिएर पठाउने गरेको थियो। हाल जिल्लाबाट सरुवा भइ गएका प्रजिअ उमेश बस्नेत र नवआगन्तुक प्रजिअ दीपकराज नेपाल भने सहसचिव तहका भएको बताइएको छ।

गृह मन्त्रालयले ३ दिनअघि स्याङ्जाका प्रजिअ बस्नेतलाई बिराटनगर महानगरपालिकामा र वाराका प्रअिज दीपकराज नेपाललाई स्याङ्जाको प्रजिअमा सरुवा गरेको छ। प्रजिअ बस्नेतले सोमबार बिहान स्याङ्जा छाडेका छन्। कर्मचारीहरुले आइतबार उनको विदाइ गरेका थिए।

Facebook Comments Box
TOP