राम्दीमा धार्मिक पर्यटनको विकास तिव्र रुपमा हुँदै, १० लाख दिप प्रज्वलन सहित १०८ सहश्रधाराको शिलान्यास ।

bhupraj adhikari _galyang

गल्याङ : गण्डकी प्रदेशको प्रमुख नाका गल्याङ नगरपालिका १ रामनदीधाम राम्दीलाई पर्यटन क्षेत्रमा विकास गर्ने उद्देश्यले २६ करोडको परियोजना तयार पारिएको छ ।
सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल पोखरा खण्डको करिब मध्य भागमा पर्ने राम्दीमा पर्यटन क्षेत्रको विकास गर्ने भन्दै गल्याङ नगरपालिकाले २६ करोड ६० लाख रुपैयाँको विस्तृत परियोजना (डिपिआर) तयार पारेको हो ।
शनिबार राम्दीमा भएको दिप प्रज्वलन, लघुरुद्री, एवम् एक सय आठ धाराको शिलान्यास कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले गण्डकी प्रदेशको मुहारको रुपमा रहेको राम्दीको विकासका लागि आफुले योजनाबद्ध ढंगले लागिरहेको बताउनुभयो ।
उहाँले त्यसमध्ये यो वर्ष तीन करोड रुपैयाँ बजेटको काम सुरु गरिएको र थप तीन करोड पनि यससँगै व्यवस्थापन हुने जानकारी दिनुभयो । जस अनुसार शनिबार एक सय आठ सहश्र धारा एवम् बायो ग्याँसको शिलान्यास गरिएको छ । मुक्तिनाथको झल्को दिने गरी एक सय आठ धारा निर्माण गर्न लागिएको हो । यस्तै, स्थानीय गौशालाको सदुपयोग गर्दै आधुनिक बायोग्याँस प्लाण्टको पनि निर्माण गरिने भएको छ । प्रदेशबाट प्राप्त हुने १५ लाख रुपैयाँमा नगरपालिकाले थप गरि बायोग्याँस निर्माण गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो ।

.


उहाँले २६ करोडको बृहत परियोजनामा सुविधा सम्पन्न आधुनिक बगैचा, सुविधासम्पन्न भवन निर्माण, स्विमिङ पुल निर्माण सहितका योजनाहरु राखिएको जानकारी दिनुभयो ।
नगरप्रमुख अधिकारीले बृहत योजना सम्पन्न गर्नका लागि सम्बन्धित मन्त्रालय एवम् विभागहरुमा सम्झौता भैसकेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो –‘यहाँबाट दैनिक रुपमा सयौं पर्यटकहरु पोखरा र लुम्वीनी जाने आउने गरेको अवस्था छ । यस ठाउँमा ती पर्यटकलाई बस्ने वातावरण बनाउने काममा हामी लागेका छौं ।’
नगरप्रमुख अधिकारीले राम्दी देखि सेतीवेणी सम्म दैनिक बस सञ्चालन गर्ने गरी योजना बनेको भन्दै गल्याङलाई नै धार्मिक र पर्यटनको केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । धर्म र संस्कृतिलाई विकास सँग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिदै उहाँले धर्मले सकारात्मक बन्नका लागि सघाउने बताउनुभयो ।
कार्यक्रममा स्थानीय जेष्ठ नागरिकहरुले तयार पार्नुभएको दश लाख बत्ति बालिएको छ । शान्ति र स्थायित्वको कामना एवम् धार्मिक क्षेत्रको विकासका लागि दिप प्रज्वलन गरिएको हो । यसैगरी लघुरुद्राधिभिषेक (लघुरुद्री) पनि गरिएको छ ।
कार्यक्रममा स्थानीय रामनदीधाम गुरुकुलका बटुकहरु एवम् मालुङ्गा महिला सानाकिसान कृषि सहकारी संस्थाका महिलाहरुले भजनकिर्तन गर्नुभएको छ । कार्यक्रममा नगर उपप्रमुख देविसरा थापा, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, वडा नम्बर एकका अध्यक्ष गणेशप्रसाद बस्याल, वडा नम्बर दुईका अध्यक्ष इवप्रसाद कर्माचार्य, वडा नम्बर चारका अध्यक्ष नेत्रप्रसाद पाण्डे, वडा नम्बर सातका अध्यक्ष रामविर गुरुङ, अन्य जनप्रतिनिधिहरु एवम् नगर कार्य पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । दिनभर चलेको पुजा, भजन किर्तन, दिप प्रज्वलनमा स्थानीयहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

Facebook Comments Box
TOP