न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान

melmilap karta

तोलाकान्त बगाले/वालिङ :

वालिङ नगरपालिकाको न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई तथा अभ्यास आदान प्रदान गरिएको छ ।

द एशिया फाउण्डेशन नेपालको सहयोग, वालिङ नगरपालिकाको समन्वय र प्राकृतिक द्वन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजनामा आज वालिङमा सिकाई तथा अभ्यासहरुको आदान प्रदान गरिएको हो ।

न्यायिक समिति तथा १४ वटै वडामा रहेका मेलमिलाप केन्द्रका संयोजकहरु सहभागी भएको उक्त कार्यक्रममा न्यायका क्षेत्रमा वडा÷वडा भएका असल अभ्यासहरु, समस्याहरु लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले वडा÷वडामा स्थापना भएको मेलमिलाप केन्द्रमार्फत मेलमिलापकर्ताहरुले फाटेका मनहरु सिलाउने गरी न्याय सम्पादन गर्न सुझाव दिनुभयो ।

“न्याय सम्पादन गर्ने क्रममा मन फटाल्ने गरी नभई फाटेका मनहरुलाई सिउने गरी न्याय सम्पादन गर्नतर्फ जोड दिनुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “जसरी भएपनि सर्वमान्य हिसावमा न्याय पाएको अनुभुति होस्, न्याय मर्न दिनुहुँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ ।”

उहाँले मेलमिलापकर्ताले न्यायको तराजु लिएर निष्पक्षरुपमा दुबै पक्षले जीतको महशुस हुने गरी मिलापत्र गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले मेलमिलाप केन्द्रमार्फत हेर्न मिल्ने विवादहरु मात्रै मिलापत्र गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले मेलमिलाप केन्द्रलाई प्रभावकारी बनाउनका लागि आवश्यक तालीम तथा अध्ययन अवलोकन भ्रमणको ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“मेलमिलापकर्ताहरु एकदम सचेत भएर विवादहरु समाधान गर्नतर्फ लाग्नुहोस्” उपप्रमुख तिवारीले भन्नुभयो, “वडा÷वडामा भएका राम्रा अभ्यासहरुको अनुकरण गर्दै न्यायिक क्षेत्रमा नमूनाकोरुपमा अगाडि बढाउन सबै एकजुट भएर अगाडि बढौं ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडा नं. १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्ले, द एशिया फाउण्डेशनका गण्डकी प्रदेश संयोजक पूर्ण परियार, वालिङ नगरपालिका कानून शाखा प्रमुख नरबहादुर पौडेल, प्राकृतिक श्रोत द्वन्द्ध रुपान्तरण केन्द्रका रमिला होमागाई र ईरादा पहारी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box
TOP