यी ११ अस्पतालबाट एकैपटक सुरु हुनेछ कोरोनाविरुद्धको खोप अभियान
१३ माघ, काठमाडौं । सरकारले बुधबार विहान १० बजे कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११ वटा अस्पतालमा यो अभियान सुरु गर्नेछन् ।प्रधानमन्त्रीबाट अभियानको शुभारम्भ हुँदै गर्दा ती ११ वटा अस्पतालले प्रत्यक्ष जोडिएर खोप लगाउन शुरु गर्ने स्वास्थ्य मन्त्रालयका कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीले बताए । उनका अनुसार पहिलो खोप लगाउने निर्णय गर्ने अधिकार हरेक अस्पताललाई दिइएको छ ।
‘११ वटा अस्पताल प्रत्यक्ष जुम विधिबाट जोडिन्छन् र एकैपटक खोप लगाउन थाल्नेछन्,’ डा लोहनीले भने, ‘आफ्ना अस्पतालमा कसबाट खोप शुभारम्भ गर्ने भन्नेमा उनीहरु स्वतन्त्र छन् ।’११ वटै अस्पतालहरु प्रधानमन्त्रीसँग अनलाइनमा प्रत्यक्ष जोडिनेछन् र ती अस्पतालहरुमा एकैपटक स्वास्थ्यकर्मीहरुलाई खोप लगाई अभियानको शुभारम्भ हुनेछ । शुक्रराजस्थित टेकु अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले टेकु अस्पतालको तर्फबाट पहिलो खोप लगाउने घोषणा गरिसकेका छन् । त्यसैगरी दोस्रो नम्बरमा डाक्टर अनुप बास्तोलाले खोप लगाउनेछन् ।प्रधानमन्त्रीले खोप अभियान शुरु गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सन्देश पढिनेछ । अभियान शुभारम्भ भएलगत्तै देशभरका अस्पतालहरुबाट खोप लगाउन थालिनेछ ।स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्टलाइनरले खोप लगाउन पाउनेछन् । खोप अभियानमामा सात प्रदेश र काठमाडौं उपत्यकाका गरी ६२ वटा अस्पताल र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रबाट खोप अभियान सुरु हुनेछ ।एउटा खोप बुथले एक दिनमा १२० देखि १२५ जनालाई खोप दिनसक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम बताउँछन् । मन्त्रालयले १८ वर्ष माथिका व्यक्तिले मात्रै खोप पाउने, खोप लिनुअघि आधा घण्टा खोपको सम्भावित असर तथा प्रभावका बारेमा जानकारी गराउने र खोप लगाइसकेपछि आधा घण्टासम्म त्यही केन्द्रमा रहनु पर्ने नियम बनाएको छ ।अभियान शुभारम्भका लागि प्रत्यक्ष जोडिने अस्पतालहरु१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल२. वीर अस्पताल३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर४. पाटन अस्पताल५. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल६. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज७. भक्तपुर अस्पताल८. शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र९. काठमाडौं मेडिकल कलेज, जोरपाटी१०. सशस्त्र प्रहरी अस्पताल, बलम्बु११. शहिद गंगालाल अस्पताल
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
४ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


