गल्याङ नगर अस्पतालबाट स्वास्थ्य विमा कार्यक्रम सुरु

health_galynag_napa


गल्याङ : स्याङ्जाको गल्याङ नगर अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम सुरु भएको छ । गल्याङ नगरवासीले विमा गरेपनि पाल्पा सहित विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेको समयमा गल्याङ नगर अस्पतालमा नै विमा कार्यक्रम सुरु गरिएको हो ।
गल्याङ नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा आइतबार जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरी विमा कार्यक्रमको सुरुवात गरिएको छ ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले सबै नगरवासीलाई स्वास्थ्यको पहुँचमा पु¥याउने प्रतिबद्वता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो –‘नेपाल सरकारले तोकेको विमाको सुविधा बाहेक थप सुविधा स्थानीय सरकारले दिएर नगरवासीलाई स्वास्थ्यको पहुँचमा पु¥याउन हामी लागी परेका छौं ।’
७० वर्ष माथिका जेष्ठ नागरिकलाई मात्रै निशुल्क विमाको व्यवस्था रहेकोमा स्थानीय सरकारले विपन्न तथा असक्तहरुलाई पनि निशुल्क विमाको व्यवस्था गर्ने मापदण्ड निर्माणको काम गरिरहेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाका विभिन्न क्षेत्रमा घरमा नै पुगेर पनि सेवा दिइने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘रोग लाग्न नदिनका लागि गर्नुपर्ने कामका लागि पनि हामी विशेष योजना बनाउँदैछौं । रोग लागिहालेमा घरमा नै पुगेर पनि सेवा दिने कार्यक्रम नगरपालिकाले बनाउनेछ ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले नगरपालिकाले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो –‘नेपाल सरकारले सुरु गरेको यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वय गर्ने क्रममा नगर अस्पतालमा नै यो सेवा सुरु भएको छ, सबैले सदुपयोग गर्न म आग्रह गर्दछु ।’
गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमप्रसाद पाण्डेले स्वास्थ्य विमा बारे अभिकर्ताहरुले अझै ध्यान दिएर नगरवासीलाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।
गल्याङ नगर अस्पताल प्रमुख थानापति न्यौपानेले अस्पतालमा रहेको आइसोलेसन हटाई विशेष रुपमा सेवा दिन सुरु गर्न थालिएको बताउनुभयो । उहाँले विमा बाट प्राप्त हुने निशुल्क औषधीहरुको सम्पूर्ण व्यवस्था अब अस्पतालमा नै हुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा ५० जना भन्दा बढि जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ ।
गल्याङ नगरवासीले स्वास्थ्य विमा गरेपनि यसअघि पाल्पाको प्रभास तथा मिसन अस्पताल गएर मात्रै सेवा लिने गरेका थिए । गल्याङ नगर अस्पतालमा नै स्वास्थ्य विमा बाट उपचार हुने भएपछि स्थानीय खुशी भएका छन् ।
गल्याङ सामुदायिक अस्पतालको रुपमा स्थापना भएको यो अस्पताल एक वर्ष अगाडि देखि नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।
बुटवल पावर कम्पनी विपिसीले जग्गा तथा भारतीय दुतावासले भवन निर्माणको व्यवस्था गरिदिए पनि अस्पताल सञ्चालन गर्न कठिनाई भएपछि नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सामुदायिक अस्पताल सञ्चालन गर्ने पक्षलाई नगरपालिकाले झण्डै ५८ लाख रुपैयाँ बक्यौता रहेको रकम भूक्तानी गरि यो अस्पताल अहिले गल्याङ नगरपालिकाले सञ्चालन गरिरहेको छ ।
कोरोना संक्रमण फैलिएको समयमा आइसोलेसन वार्ड निर्माण गर्नुपरेका कारण सोचेजस्तो काम गर्न नसकिएपनि अब अस्पतालको मुहार फेरिने अस्पताल प्रमुख थानापति न्यौपाने बताउनुहुन्छ ।

Facebook Comments Box
TOP