नगरपालिकाका सबै नागरिकलाई स्वास्थ्य विमा गर्ने गल्याङ नगरपालिकाको तयारी

 ४ मंसिर २०७७, बिहीबार १८:४१   | आँधीखोला समाचार डेस्क

नगरपालिकाका सबै नागरिकलाई स्वास्थ्य विमा गर्ने गल्याङ नगरपालिकाको तयारी

गल्याङ :
सबै नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा पु¥याउन स्याङ्जाको गल्याङ नगरपालिकाले विशेष पहल गर्ने भएको छ । नगरवासीलाई स्वास्थ्य विमा मार्फत सेवा दिन नगरपालिकाले विशेष अभियान थाल्ने भएको हो ।
गल्याङ नगरपालिकाको आयोजनामा विहीबार भएको स्वास्थ्य बीमा अभिमुखिकरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले डेढ महिना भित्र नगरपालिकाका सबै नागरिकलाई विमाको पहुँचमा ल्याउने बताउनुभयो ।
उहाँले सबै वडाका सहजकर्ताहरुलाई अझै सक्रियतापूर्वक सहभागी गराई विमा नभएका ठाउँमा जनचेतना जगाउँदै विमा गराउने बताउनुभयो ।
७० वर्ष माथि उमेरका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य विमा रहेकोमा यसको समेत उपयोग नभएको भन्दै नगरप्रमुख अधिकारीले पाउने सेवा सुविधा दिलाउन जनचेतना फैलाउनुको विकल्प नरहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘गल्याङ नगरपालिकालाई नमूना बनाउने अभियानमा हामी सबै लागौं र स्वास्थ्यको पहुँच पु¥याऔं ।’
उहाँले गल्याङ नगरपालिकाद्वारा सञ्चालित गल्याङ नगर अस्पतालमा अब आइसोलेसन नराख्ने बताउनुभयो । यसअघि कोरोना संक्रमितको लागि सो अस्पतालमा आइसोलेसनको व्यवस्था गरिएकोमा अब त्यसलाई आइसोलेसन नराखी होम आइसोलेसनमा राख्ने वा अन्य ठाउँमा व्यवस्थापन गर्नेबारे स्वास्थ्य शाखाले केही दिनमा नै निर्णय गर्ने बताउनुभयो ।
उहाँले भन्नभयो –‘कोही होम आइसोलेसनमा बसेर हुने, कोही अस्पतालकै आइसोलेसनमा बस्नुपर्ने भन्ने नियम हुँदैन । अब होम आइसोलेसन मात्रै रहने गरी निर्णय गरेर कार्यान्वयन गर्नुपर्छ ।’
नगरप्रमुख अधिकारीले कोरोना संक्रमणलाई अति ठूलो महामारीको रुपमा लिएर मात्रै नहुँने भन्दै सामाजिक दुरी नभई स्वास्थ्यको दुरी कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य विमा बोर्ड गण्डकी प्रदेश पोखराका संयोजक जिवलाल खरेलले स्याङ्जा र गल्याङ नगरपालिकामा स्वास्थ्य विमाको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।
उहाँले अहिले नेपालका ६० जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन भैरहेको जानकारी दिदै ३२ लाख भन्दा बढिको स्वास्थ्य विमा भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा खरेल र स्वास्थ्य विमा बोर्ड टेकु काठमाडौंका सिनियर अहेब भगवान रेग्मीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर एक देखि ११ सम्मका वडाध्यक्षहरु त्था स्वास्थ्य विमा सहजकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैवीच, गल्याङ नगरपालिकाद्वारा सञ्चालित गल्याङ नगर अस्पतालमा मंसिर १२ गते शुक्रबार स्वास्थ्य विमा कार्यक्रमबाट सेवा प्रवाह सुरु हुने भएको छ ।
अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिने दिनेबारे कार्तिक २७ गते सहमति भए पछि सो अस्पतालमामंसिर १२ गते सेवा प्रवाह सुरु हुने भएको हो ।
नगरपालिका भित्रका ५० जना जेष्ठ नागरिकहरुलाई सेवा दिई सेवा शुभारम्भ गरिने भएको छ । अभिमुखिकरण कार्यक्रममा गल्याङ नगरप्रमुख भुपराज अधिकारीले यस्तो घोषणा गर्नुभएको हो ।
गल्याङ नगर अस्पतालमा नै स्वास्थ्य विमा कार्यक्रमबाट सेवा सुरु हुने भएपछि स्थानीय लाभान्दित हुने भएका छन् । यसअघि स्वास्थ्य विमा गरेपनि मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र वा पाल्पामा रहेका अस्पतालबाट विमितहरुले सेवा लिने गरेका छन् ।

यो पनि पड्नुहोस..  गल्याङ-१० गाउँसौरामा पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई नगरपालिकाको एक लाख सहयोग

याे पनि : वालिङमा ‘जनस्वास्थ्य विपद’ घोषणा,अत्यावश्यक बाहेकका सबै सेवाहरु एकहप्ताका लागि बन्द ।

Facebook Comments

अन्तिम अपडेट: ४ मंसिर २०७७, बिहीबार १८:४१





-->