पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग

तोलाकान्त बगाले/वालिङ :

स्याङ्जाका विभिन्न ठाउँमा पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा उपलब्ध गराईएको रकम वालिङ नगरपालिकामार्फत पीडित परिवारलाई आज उपलब्ध गराईएको हो ।

बेलायतमा बसोबास गर्दै आउनुभएका योगेन्द्रकुमार गैह्रेको पहलमा संकलन गरिएको रु. तीन लाख ५० हजार एकसय, पोर्चुगलमा अर्जुन अर्याल र बेलायतमा दामोदर सुबेदीको पहलमा संकलन गरिएको रु. चार लाख ३२ हजार ८२७ र स्याङ्जा सहयोग समाज वालिङ नगर ईकाई कतारबाट प्राप्त भएको रु. ५० हजार गरी कूल रु.आठ लाख ३२ हजार ८२७ नगरपालिकामार्फत मृतक तथा विस्थापितका परिवारलाई हस्तान्तरण गरिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

गत असोज ८ गते वालिङ १४ तमादीमा एकजना पाहुनासहित एकैघरमा ९ जनाको पहिरोमा पुरिएर ज्यान गएकाको परिवारलाई नर्वे, क्यानडा, बेलायत, अष्ट्रेलियामा रहेका नेपालीहरुबाट संकलन गरिएकोमध्येको रु. तीन लाख एकसय, सोही घटनामा परेर ज्यान गुमाएकी पाहुना आएकी महिलाको परिवारलाई रु. २५ हजार र वालिङ ११ पेखुमा गिट्टी निकाल्ने क्रममा पुरिएर मृत्यु भएकाको परिवारलाई रु. २५ हजार गरी कूल रु. तीन लाख ५० हजार एकसय हस्तान्तरण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

.

पोर्चुगलमा अर्जुन अर्याल र बेलायतमा दामोदर सुबेदीको पहलमा संकलन गरिएको रु. चार लाख ३२ हजार ७२७ रकमबाट मनिषा÷भोजराज नेपालीलाई रु. एकलाख ८२ हजार ७२७, तमादी पहिरोमा घर पुरिएर विस्थापित भएका चार परिवारलाई प्रतिपरिवार रु. ५० हजारका दरले रु. दुई लाख, कालीगण्डकी ४ विर्घामा ज्यान गुमाएकाको परिवारलाई रु. ५० हजार उपलब्ध गराईएको नगर प्रमुख खाँणले बताउनुभयो ।

विभिन्न देशमा रोजगारीका शिलशिलामा रहेर जन्मभूमिप्रति देखाउनुभएको सहयोग र सद्भावप्रति नगर प्रमुख खाँण, उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बेलायतमा रकम संकलनका लागि सक्रिय भूमिका खेल्नुभएका योगेन्द्रकुमार गैह्रेका मामा जगदिशप्रसाद गैह्रेले आज उक्त रकम नगरपालिकामार्फत पीडित परिवारलाई उपलब्ध गराउनुभएको हो । विदेशी भूमिमा बसेर खर्चलाई कटौति गर्दै संकलन गरिएको रकमले पहिरोमा परी परिवारका सदस्यसहित घरबास गुमाएकाहरुको पीडामा थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले रकम संकलन गरी हस्तान्तरण गरिएको जगदिशप्रसाद गैह्रेले बताउनुभयो ।

रोजगारीका शिलशिलामा बिदेशी भूमिमा आएर बस्दै गर्दा आफ्नो जन्मभूमिमा भएका अप्रिय घटनाहरुले निक्कै पीडा दिनेभएकाले पीडित परिवारको पीडालाई आफ्नै पीडा ठानेर राहत संकलन गरेर हस्तान्तरण गरिएको पोर्चुगलमा आर्थिक संकलन गर्दै आउनुभएका अर्जुन अर्यालले बताउनुभयो ।

“स्याङ्जा सहयोग समाज पोर्चुगलले रकम संकलनका लागि मेरो संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरेको थियो” समिति संयोजक अर्यालले भन्नुभयो, “आर्थिक संकलनकालागि विभिन्न देशमा समिति गठन गरिएको र जम्मा भएको रकम वालिङ नगरपालिकामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ” ।

विभिन्न देशमा गठन भएका समितिले रकम संकलन गरिरहनुभएकाले सहयोग रकम अझै बढ्ने अर्यालले बताउनुभयो ।

त्यस्तैगरी स्याङ्जा सहयोग समाज वालिङ नगर ईकाइ कतारबाट संकलन भएको रु. ५० हजार रकम समाजका कोषाध्यक्ष खगेन्द्र गैह्रेले वालिङ नगरपालिकामार्फत तमादी पहिरोमा परी ज्यान गुमाएका परिवार तथा समाजका अग्निपीडित सदस्य सञ्जय कोईरालालाई राहत उपलब्ध गराएको हो ।

Facebook Comments Box
TOP