युवाहरुको सहयोगमा विपन्नको घर बनाउँदै गल्याङ नपा, दुई महिना भित्र ३४ घर बनाइने ।
केपी खनाल/गल्याङ :
ढलान गरिएको बाटो सँगै बनिरहेको घरसँगै मुस्कुराइरहेकी महिलाको नाम हो लालिमाया मश्राङ्गी । भएको एउटा झुप्रो त्यो पनि बर्षात्को पानीमा कुनै ओत नभएको । परिरहेको पानी खरको छाना छिचोलेर बाहिर नजाने । नयाँ बनाउँ भने पैसा छैन, यसरी नै धेरै बर्खा विते उनको । तर अहिले भने त्यो झुप्रो भएको ठाउँमा स्थानीय युवा क्लबका सक्रीय युवाहरु धमाधम इट्टा थपिरहेका छन् । यहाँ काम गरे वापत लालिमायाले यी युवाहरुलाई पारिश्रमिक दिनुपर्दैन । युवाहरुले कुनै पारिश्रमिक पाउँदैनन् तर पनि काममा भने कुनै कमी छैन । घर निर्माणका सम्पूर्ण सामान भने गल्याङ नगरपालिकाले उपलब्ध गराएको छ ।
युवाहरुको साथमा र सहयोगमा अति विपन्न परिवारको घर बनाउने कामलाई स्याङ्जाको गल्याङ नगरपालिकाले तिब्रता दिएको हो ।
गल्याङ नगरपालिका दशबाट सुरु गरिएको विपन्नको घर बनाउने अभियान नगरपालिकाका अन्य वडाहरुमा पनि विस्तार गर्ने क्रममा गल्याङ नगरपालिका ५ रुपाखानी, गल्याङ नगरपालिका वडा नम्बर २ र ९ का विभिन्न स्थानमा विस्तार गरिएको छ । हालसम्म वडा नम्बर २ का १६ घर एउटा विद्यालय भवन, वडा नम्बर पाँच मा दुई वटा घर, वडा नम्बर ९ मा १० वटा घर र वडा नम्बर १० मा पाँच वटा घर गरी ३४ वटा घरको नगर प्रमुख भुपराज अधिकारीले सिलान्यास गरि सक्नुभएको छ । यी सबै घरहरु दुई महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विपन्न परिवारका लागि आवास निर्माण शुभारम्भ गरिएपछि विपन्न परिवारको अनुहारमा मुस्कान छाएको छ । शिलान्यास कार्यक्रमका गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिकामा रहेका सबै विपन्न परिवारको घर बनाउने र हाललाई ७५ भन्दा बढि घरको काम सुरु भइरहेको बताउनुभयो ।
.
नगरप्रमुख अधिकारीले एक वर्ष भित्रमा सबै विपन्नको घर बनाएर छाड्ने र दश वर्ष भित्र नगरपालिकामा कोही पनि गरिब नरहने बताउनुभयो ।
उहाँले नगरपालिकाले जस्तापाता दिएर पनि घर बनाउन नसक्ने परिवारका लागि नगरपालिकाले आफै घर बनाइदिन लागेको बताउनुभयो ।
एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने संस्कृति लोप हुँदै गएको भन्दै नगरप्रमुख अधिकारीले संस्कृति र विकासलाई सँगसँगै जोड्नका लागि यो अभियान थालिएको बताउनुभयो ।
सकारात्मक सोचका साथ सहयोगको भावनाको विकास गर्नुपर्ने भन्दै उहाँले सबैभन्दा बढि विपन्न परिवारको सहयोग गर्ने सोच बनाउनुपर्नेमा जोड दिनुभयो ।
गास बास र कपासको ग्यारेण्टी अब नगरपालिकाले लिने भन्दै नगरप्रमुख अधिकारीले अबको दश वर्षसम्ममा नगरपालिकामा कोही गरिब नरहने बताउनुभयो ।
युवा संघ र तरुण दल जस्ता राजनीतिक पार्टीका भातृ संगठनले पनि अब विपन्न परिवारका घर बनाउने कामका लागि प्रतिस्पर्धा गर्न उहाँले सुझाब दिनुभयो ।
प्रति परिवार दुई लाख रुपैयाँ बराबरको निर्माण सामाग्री नगरपालिकाले दिने र बाँकी स्थानीय जनश्रमदानबाट घर निर्माणको काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
.
समाचार
थप सामाग्रीदहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
३ दिन अगाडि
भीरकोट : दहथुम बहुमुखी क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसले शनिबार…