गल्याङका दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको स्वास्थ्य परिक्षण

krishak_galyang

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाले दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको परिक्षण गरेको छ । गल्याङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा दुग्ध संकलन केन्द्रमा पुगेर किसानले पालिरहेका पशुहरुको परिक्षण गरिएको हो ।
विभिन्न १६ वटा दुग्ध संकलन केन्द्रमा पशुहरुको परिक्षण गर्ने क्रममा गल्याङ नगरपालिका वडा नम्बर ११ दिमिकमा मंगलबार पशुहरुको परिक्षण गरिएको छ । किसानलाई प्राविधिक परामर्श सहित पशुको गोबर तथा अन्य समस्याहरुको बारेमा सम्बन्धित ठाउँमा नै पुगेर परिक्षण गरिएको पशु शाखा प्रमुख सुशिल अर्यालले जानकारी दिनुभयो ।
दिमिक दुग्ध संकलन केन्द्रमा एक सय भन्दा बढि किसानका दुई सय भन्दा बढि पशुको परिक्षण गरिएको पशु शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो ।
अन्य दुग्ध संकलन केन्द्रमा पनि नियमित रुपमा पशुहरुको परिक्षणको काम जारी रहने उहाँले बताउनुभयो ।
गल्याङ नगरपालिकाका पशु चिकित्सक डाक्टर अनिस सापकोटा, पशु प्राविधिकहरु डिल्लीराम अर्याल, शिब सुबेदी सहितका कर्मचारीहरु परिक्षणका क्रममा सहभागी हुनुभएको थियो ।
दुध उत्पादनमा उत्साहित ढंगले लागेका किसानहरुलाई थप सहयोग गरी अझै हौसला प्रदान गर्नका लागि टोलमा नै पुगेर पशुको उपचारमा संलग्न भएको उहाँको भनाई छ ।
गल्याङ नगरपालिकामा दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएपछि किसानहरु दुध उत्पादनमा सक्रिय बन्न थालेका छन् । साथै व्यवसायिक ढंगले पशुपालन गर्नेहरु पनि बढेका छन् । तीन वर्ष अगाडि दुध तथा दुधजन्य पदार्ध आयात गर्नुपर्ने गल्याङमा हाल आन्तरिक खपत पुरा गरी दैनिक करिब तीन हजार लिटर दुध बाहिरी बजारमा पठाइने गरिएको नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
TOP