बागलुङ ढोरपाटन बाढीपहिरो : आठ जनाको शव भेटियो, १३ जना अझै बेपत्ता
बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म आठ जनाको शव फेला परेको छ । चार जना गम्भीर घाइते छन् भने १३ जना बेपत्ता रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार मृतकमध्ये ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विकको मात्र सनाखत हुन सकेको छ ।
ढोरपाटन–४ दुनेपोखराका वर्ष १५ का महेन्द्र पुन, वर्ष २८ की सरिता घर्ती, वर्ष ४२ का धर्मेन्द्र पुन र वर्ष ५४ की बेलमती पुन घाइते छन् । बाढीले ढोरपाटन–९ सुकुदुङमा रहेको स्वास्थ्य चौकी भवनलगायत १३ वटा घर पूर्णरूपमा बगेका छन् ।
राति १२ बजेतिर देउराली र सुकुदुङ क्षेत्रमा खसेको पहिरोमा यहाँका १५ वटाभन्दा बढी घर पुरिएका छन् । बाढीले कटान गरेपछि सडकसमेत क्षतविक्षत भएको छ ।
बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोली घटनास्थल पुगेपछि स्थानीयसहित उद्धार सुरु गरिएको छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशिला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया करमती घर्तीमगर, ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर र उनका ६ वर्षीय छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी छन् ।
.

बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेनासमेत घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।घटनास्थल सदरमुकामबाट १ सय ३० किमी पश्चिममा पर्छ । पहिरो खसेको थाहा पाएर पनि रातभर फोन र विद्युत् अवरुद्ध भएकाले उद्धार गर्न कठिनाइ भएको स्थानीय फूलमाया पुनले बताइन् ।
जिल्ला प्रहरीका नायब उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार टोली उद्धारमा खटिरहेको छ । घटनास्थल पुग्ने बाटो क्षतविक्षत भएकाले जानेहरूले पनि सास्ती खेपेका छन् । घोडाबाँधेस्थित नेपाली सेनाको टोली पनि उद्धारका लागि गएको अर्जुनबाण गणका गणपति मिलनध्वज खाँडले बताए ।
ढोरपाटन सालझन्डी सडक खण्डमा पनि पहिरो खसेको छ । बर्खा लागेपछि यो खण्डमा सवारी चलेको थिएन । पहिरोले फलेघर भन्ने स्थानतर्फ पनि क्षति गर्न सक्ने त्रास बढेको पुनले बताइन् । उक्त स्थानमा दुई दर्जन घर जोखिममा छन् । पानी परिरहेको र मौसम परिवर्तन भइरहने भएकाले उद्धारमा कठिनाइ भएको ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले बताए । (ईकान्तीपुर डटकमबाट)
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


