जनैपूर्णिमा तथा ऋषितर्पणी मनाइँदै।

श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । 

आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गेको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ ।

यसदिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । 

आजै राखी बाँध्ने गरिन्छ । तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सु-स्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गरिएको छ । 

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खानु शरिरका लागि लाभदायक छ । उज्यालो अनलाईनबाट

Facebook Comments Box
TOP