निषेधाज्ञा तोड्नेमाथि कठोर कारवाही हुन्छ : प्रजिअ स्याङ्जा ।

ganga bdr_chhetree

लकडाउन कै बीचमा आफ्नै गुह जिल्ला स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाल्नु भएका गंगाबहादुर क्षेत्री  यतिबेला रातदिन नभनी जिल्लाको समग्र शान्तिसुरक्षा र अमनचयन कायम गराउन दत्तचित्त हुनुहुन्छ । । एकातर्फ कोरोना कहरको भयावह अवस्था र अर्कोतर्फ समाजमा अपराधिक क्रियाकलाप नियन्त्रण गरी शान्तिसुरक्षा कायम राख्नु पर्ने दायित्व उहाँको काँधमा छ ।

अझ पछिल्लो समय बाढी पहिरो पीडितहरुको उद्धार, राहत र व्यवस्थापनको चुनौती पनि थपिएको छ । सरल, मिजासिला र स्पष्टवक्ता प्रजिअ क्षेत्री कानुन कार्यान्वयनमा भने कडा मिजासका देखिनु भएकाे छ। प्रमुख राजनीतिक दल, नागरिक समाज तथा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत जिल्लाका सबै कार्यालय प्रमुखसँगको समन्वय र परिचालन गर्दै छोटो समय मै स्याङ्जामा सफल प्रजिअको पहिचान उहाँले बनाउनु भएकाे छ ।

स्याङजामा ठुलो संख्यामा प्रहरीमा समेत कोरोना संक्रमण देखिएपछि जारी निषेधाज्ञा अझै कायम छ । थप संक्रमण समुदायमा फैलिन नदिन गृहमन्त्रालय मातहतका निकायको महत्वपूर्ण भुमिका रहेको छ । कोरोना भाइरसको सन्त्रास र त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लाले गरेको निषेधाज्ञा (लकडाउन) पछि स्याङजामा परेको प्रभाव र रोगबाट बच्न जिल्लाले गरेको तयारीमा केन्द्रीत रहेर स्याङजाका प्रजिअ क्षेत्रीसँग गरिएको कुराकानी :- 


◊ कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (लकडाउन) को अवस्था स्याङजामा कस्तो रहेको छ ? अवज्ञा गर्नेलाई के–कस्ता कारवाही भएका छन् ?

हामीले जिल्लामा अत्यावश्यक काम बाहेक अन्य सेवा प्रवाहलाई रोक लगाएका छौं । प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन गरेको आह्वानलाई स्याङजाबासीले आत्मसाथ गर्नुभएको छ । हालसम्म आईपुग्दा यो अझ प्रभावकारी भएको पाइएको छ । समग्रमा स्याङजाका ९० प्रतिशत बढी मानिसहरुले सरकारी आदेशको पालना गर्नुभएको छ । पोखरा र बुटवल जाने बाटो परेकाले राजमार्गमा केही मोबिलिटी देखिए पनि उहाँहरु पास लिएरै जानुभएको देखिन्छ । आफूलाई स्थानीय भन्दै बिनाकाममा हिड्नेहरुलाई हामीले सचेत गराउने, सवारी साधन नियन्त्रणमा लिने जस्ता कारवाही गर्दै आएका छौं । मूख्यत हाम्रो कारवाही भन्दा ठूलो सामाजिक कारवाही हो । जथाभावी हिड्नेलाई समाजले नै कारवाही गर्ने स्थिति बन्दैछ ।

◊ निषेधाज्ञाको अवस्था हेर्न घर बाहिर निस्कने प्रवृत्ति देखिएको छ । यसलाई कसरी निरुत्साहित गर्नुहुन्छ ?

पछिल्लो समय २१ जना मात्र आईसोलेशनमा हुनुहुन्थ्यो । अब स्याङजा कोरोनामुक्त हुदैंछ भन्ने लागेको थियो । तर अचानक नेपाल प्रहरीमा समेत कोरोना देखिएपछि हामीले पुन लकडाउन (निषेधाज्ञा) घोषणा गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोग लिएका छौं । निषेधाज्ञाको बेला बाहिर निस्कने प्रवृत्तिलाई निरुत्साहित गर्न मैले प्रहरीलाई कठोर हुन आदेश दिएको छु । सम्झाउँदा नबुझ्नेलाई कानुनी कारवाही गर्न हामी पछि हट्दैनौ । तर, मूख्यकुरा सामाजिक चेतना नै हो । अहिले हामी स्थानीय जनप्रतिनिधि र समाजका अगुवा व्यक्तित्वहरुमार्फत प्रत्येक व्यक्तिलाई जिम्मेवार बनाउन लागिपरेका छौं । प्रहरी प्रशासनको आखाँ छल्नेलाई समाजले पनि पाठ पढाउन आवश्यक छ । हामी सिंगो समाजलाई नै कोरोनो भाइरस बिरुद्घको लडाइमा सँगसँगै लिएर लड्न चाहन्छौं ।

◊ खाद्यान्न र तरकारीका पसलहरु साँझ मात्र खुलेका छन् । पसलमा किनमेल गर्नेको भीडभाड हुन्छ । यसले निषेधाज्ञाको के अर्थ भयो र ?

पछिल्लो पटक त्यस्तो छैन् । अहिले त्यस्तो खासै भीड भएजस्तो मलाई लाग्दैन् । बिक्रेताहरूले नबुझ्दा यो समस्या भएको हो । खासमा यी पसलहरु बन्द गर्ने होइन । तर, बिक्रेताहरू पनि रोगको त्रासले साँझ मात्र खोल्नुहुन्छ । यसले क्रेताबिक्रेता दुवैलाई झन् जोखिम बढाएको छ । जिल्लामा पुन लकडाउन भनौं निषेधाज्ञा गरी हालसम्म आईपुग्दा हामीले स्थानीय सरकारसँग समन्वय गरी कम्तिमा १ मिटरको दुरी कायम गरी सामान खरिदबिक्री गर्ने व्यवस्था मिलाएका छौं । केही स्थानीय तहले सो काम गरिसकेको र केहीले गरिहाल्ने भन्ने हामीले खबर पाएका छौं ।

◊ संकटको यस घडीमा प्रत्येक नागरिकले सरकार खोजीरहेका छन् । तपाई सरकारको प्रतिनिधिको रुपमा स्याङ्जाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । तपाइसँग जनताले कसरी सम्पर्क गर्न सक्छन ?

हाम्रो मुख्य प्राथमिकता जिल्लाको शान्ति सुरक्षा नै हो । म प्रमुख जिल्ला अधिकारी हुनुको नाताले संकटको यस घडीमा सम्पूर्ण स्याङजाबासीको साथमै रहेको विश्वास दिलाउन चाहन्छु । कोभिड १९ बारे प्रत्येक गाँउपालिका तथा नगरपालिकाले सम्पर्क व्यक्ति तोकिदिएका छन् । स्थानीय सरकारहरु छन् । स्थानीय तहमा प्रहरी कर्मचारी पनि हुनुहुन्छ । उहाँहरुमार्फत पनि हामी स्थानीयसँग जोडिएका छौं । यतिबेला यहाँहरुलाई कुनै संकट आइपर्यो भने सिधै मेरो मोबाइल नम्बर ९८५६०४७७७७ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

.

गंगाबहादुर क्षेत्री ,प्रमुख जिल्ला अधिकारी,स्याङ्जा

◊कतिपय दैनिक ज्यालादारी गरी खाने मजदुरहरुले यतिबेला भोकै सुत्नुपरेको भन्ने छ नि ?

स्याङजामा त्यसरी भोकै सुत्नुपर्ने अवस्था छैन् । हामीले उहाँहरुलाई हेरेका छौं । कतिपय मनकारी स्थानीय व्यक्तिहरुले पनि उहाँहरुलाई खानेकुरा दिइरहनु भएको छ । हामीले गाँउपालिका तथा नगरपालिकालाई त्यस्ता व्यक्तिहरुलाई खानाको व्यवस्था गर्न अनुरोध पनि गरेका छौं । गाँउपालिका तथा नगरपालिकाले वडा अध्यक्षलाई उक्त कार्य गर्न भनेको हामीलाई जानकारी प्राप्त भएको छ । स्याङजामा कोही भोकै सुत्नुपर्दैन । यदि त्यस्तो अवस्था देखियो भने हामीलाई खबर गर्दा हामी आभारी हुनेछौं । हामी आपतविपतमा परेका व्यक्तिहरुलाई तत्काल राहत सहयोग गर्न आतुर छौं ।

◊ अहिलेसम्मको अवस्था हेर्दा स्याङजामा कोभिड १९ को जोखिम कति हो ? जिल्लामा कोभिड १९ रोकथामका सम्बन्धमा देखिएका चुनौती के हुन् ?

अहिलेसम्म जिल्लामा ३ सय १० जना संक्रमित हुनुहुन्छ । अहिलेसम्मको केस र हिस्ट्रीको अवस्था अध्ययन गर्दा विदेशबाट आएकाहरुलाई मात्र नभएर प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयलाई समेत रोगको संक्रमण पुष्टि भएको देखिन्छ । यसरी हेर्दा स्याङजामा पनि यो पछिल्लो २ हप्तामा संक्रमित प्रहरीहरु प्रशस्त देखिएका छन् । यसर्थ, स्याङजा जोखिममा छैन भन्ने अवस्था छैन । उहाँहरुले सेल्फ क्वारेन्टाइन र आइसोलेशनमा रहेर कत्तिको नियम पालन गर्नु भएको छ त्यसको आधारमा जोखिमको मात्रा घटीबढी भन्ने मात्र हो । हाम्रो मूख्य चुनौती भन्ने नै सेल्फ क्वारेन्टाइनमा रहनु भएकाहरुलाई हामीले कत्ति जिम्मेवार बनाउन सक्यौं भन्ने हो । यदि सेल्फ क्वारेन्टाइन र आइसोलेशनलाई गम्भीरताका साथ् नलिनुभएको भए अथवा रोग लुकाइरहनु भएको भए त्यो खतरा हुनसक्छ ।

◊ जिल्लामा प्रहरी र स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएपछि सबैमा सन्त्रास बढेको छ । यसको संक्रमण समुदायमा फैलन नदिन के कस्ता प्रयास गरिएको छ ? अर्काेतर्फ विदेशबाट नेपाल आएकाहरुको अनुगमन संयन्त्र कसरी बनाइएको छ ?

विदेशबाट आएकाको अनुगमन सम्बन्धित पालिकाले नै गर्छ । विदेशबाट आएर उच्च जोखिममा रहेकाको विवरण केन्द्रबाटै आउँछ भने अन्यको स्थानीय सरकारमार्फत रेकर्ड राखिएको छ । अहिले छिमेकीले नै खबर गर्ने हुँदा कोही लुकिछिपी रहने स्थिति छैन र हुनुपनि हुँदैन । उहाँहरुलाई सेल्फ क्वारेन्टाइनमा र आइसोलेशनमा रहन भनिएको छ र त्यसको स्थानीय सरकारका वडा अध्यक्षकै संलग्नतामा अनुगमन भैरहेको छ । सेल्फ क्वारेन्टाइनमा रहन नमान्नेलाई हामीले सरकारी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौं ।

◊ जिल्लामा रहेका क्वारेन्टाइन र आईसोलेशनको अवस्था के छ ?

पछिल्लो समयमा भारत र अन्य मुलुकबाट आउनेहरुको संख्या घट्दै गएकाले क्वारेन्टाईनको संख्या पनि घट्दै गएको छ । क्वारेन्टाईनमा शुरुमा बस्न नमान्नु भएकाहरु अहिले त्यहाँको व्यवस्थापन देखेर खुशी हुनुहुन्छ । हाम्रा प्रत्येक पालिकाहरुले क्वारेन्टाइन स्थल यकिन गरेका छन् ।

◊ निजी अस्पातालले सेवा नदिएको समाचार आइरहका छन् । स्याङजाको अवस्था के छ ?

हामीकहाँ त्यस्तो अवस्था छैन् । अहिलेसम्म जिल्ला अस्पतालले बिरामी धानिरहेको छ । जहाँसम्म अन्यत्र समाचारमा आएका कुरा छन्, हाम्रोमा त्यो अवस्था होइन । निजी अस्पतालले उपचार नगरेको गुनासो स्याङजामा हामीले पाएका छैनौ । डाक्टरको धर्म नै उपचार गर्नु हो । त्यसैले मलाई उहाँहरु आफ्नो धर्म छोडेर भाग्नुहुन्छ जस्तो पनि लाग्दैन ।

◊ अन्त्यमा आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ? जिल्लाबासीको लागि तपाईको के सन्देश छ ?

पछिल्लो समयमा जिल्लामा संक्रमण अलि बढेको हो कि झै देखिन्छ । अहिलेको हाम्रो मूख्य उद्देश्य भनेको कोभिड १९ को रोकथाम नै हो । यसका लागि सरकारको आदेश मानेर घरमै बस्नुभएकोमा आभारी छु । तपाईको टोल छिमेकमा कोही विदेशबाट आउनुभएको छ र सेल्फ क्वारेन्टाइनमा नरहनु भएको भए उहाँहरुलाई सचेत गराऔं । मान्छे आफ्नो भए पनि रोग आफ्नो हुँदैन । त्यसैले सबैले सामाजिक दुरी कायम गरौँ । रोग लाग्न नदिऔ, लागि हाले नआत्तिऔं र फैलन नदिऔं ।सबै सतर्क रहौं र सुरक्षित बनौ । यो सरकारको मात्र होइन, हामी सबैको साझा लडाई हो । घरमै बसेर कोभिड १९ विरुद्धको लडाई लडौं । साभार : नेपाल बहस डटकमबाट

Facebook Comments Box
TOP