गल्याङ नगरपालिकाका १७ जातजातिको सामाजिक-सांस्कृतिक अनुसन्धान सम्पन्न (बिश्लेषण र तस्विर सहित) ।

sorathi_galyang

गल्याङ :

शिक्षा, संस्कृति र पर्यटनका क्षेत्रमा काम गरिरहेको साभ नेपाल नामक संस्थाले स्याङ्जाको गल्याङ नगरपालिकाअन्तर्गत स्थायी रुपमा बसोबास गर्दै आएका १७ जातजातिको सामाजिक र सांस्कृतिक पक्षको अनुसन्धान सम्पन्न भएको जनाएको छ । गल्याङ नगरपालिका र साभ नेपालको सहकार्यमा उक्त अनुसन्धान कार्य सम्पन्न भएको साभ नेपालका अध्यक्ष एवम् लोकसंस्कृतिका अनुसन्धानकर्ता तुलसी प्रभासले बताउनु भयो ।

एघार वटा वडामा विस्तारित रहेको यस नगरपालिकाको भूगोलमा जस्तै यहाँको जनजातीय संरचना र सांस्कृतिक संरचनामा पनि अत्यन्त विविधता रहेको पाइन्छ । जातीय विविधता र त्यससँग गाँसिएका अन्य विविध पक्षहरूको विविधताले सिर्जेको सौन्दर्यबाट यो नगरपालिका पनि निकै नै सुशोभित रहेको पाइन्छ । आ–आफ्नै जातीय संस्कार, परम्परा, रीतिरिवाज भए पनि नेपाली समाजको विविधतामा एकता र एकतामा विविधताको प्रदीप्तिले यस नगरक्षेत्र पनि प्रज्वलित देखिन्छ । १२२.६९ वर्ग कि.मीको भू–भाग भित्र साना–ठूला गरी जम्मा १७ जाति/जनजातिहरूको बसोबास यस नगरपालिकाभित्रको भूगोलमा पाइनुले यहाँको जातीय विविधतालाई संकेत गर्दछ भने तिनका आ–आफ्नै सांस्कृतिक सम्पदाहरूबाट यस नगरक्षेत्रको सिङ्गो संस्कृति निर्मित भएको पाइन्छ । वि.सं २०६८ सालको जनगणनाअनुसार यस नगरपालिकामा क्षेत्री, ब्राह्मण, मगर, गुरुङ, नेवार, तामाङ, मुसलमान, कामी, दमाई, ठकुरी, सार्की, सन्यासी, घर्ती/भुजेल, माझी, थारु, तराई अन्य र अन्य जातिको बसोबास रहेको छ ।

.

यस नगरक्षेत्रमा खसआर्य मूलका ब्राम्हण, क्षेत्री, ठकुरी, दशनामी, कामी, सार्की, दमाईलगायत मंगोल मूलका गुरुङ, मगर, तामाङ जस्ता जाति÷जनजातिहरू साथै उन्नत समूहभित्र पर्ने नेवारदेखि अतिसीमान्तकृत समूहभित्र पर्ने जाति समूह पाइनुले जाति–जातिहरूको बीचको वर्गीय विविधता पनि यहाँ पाउन सकिन्छ ।

यस नगरपालिकमा बसोबास गर्ने ब्राम्हण, क्षेत्री, मगर, गुरुङ, नेवार, दशनामी, भुजेल आदि जातिहरू यहीँकै रैथाने जातिका रूपमा देखिन्छन् भने तामाङ, थारु आदि जातिहरू कामको सिलसिलामा यहाँ आई कतिले अस्थायी बसोबास गरेका र अत्यल्प संख्यामा समेत रहेका पाइन्छन् ।

अनुसन्धानबाट यहाँका जातजातिभित्रको आपसी सद्भाव, सहिष्णुता उदाहरणीय पाइएको छ । एउटाको संस्कृतिले अर्को जातको संस्कृतिलाई बडो सम्मान भावले हेर्ने र अनुशरण गर्ने गरेको छ । यहाँका ब्राह्मण, मगर, गुरुङ, नेवार र दमाई जातिका संस्कृति अहिले पनि निकै क्रियाशील र जीवित छ्न् । अन्य जातिका संस्कृति लोपोन्मुख अवस्थामा छ्न् । नगरपालिका सबै जातजातिका संस्कृतिको संरक्षणका लागि चिन्तनशील छ । नगर प्रमुख आफै हरेक जातिका चाडपर्व र सांस्कृतिक कर्महरूमा प्रत्यक्ष सहभागी भएर सबैलाई हौसला एवम् प्रेरणा प्रदान गर्नुहुन्छ । अन्य जनप्रतिनिधि पनि संस्कृति संरक्षणमा उत्तिकै चिन्तनशील हुनुहुन्छ ।

.

नगरपालिकाले कृषि र ग्रामीण पर्यटनका माध्यमबाट अन्तरर्निभर हुने योजनाका साथ अघि बढिरहेको छ । यहाँका भजन, सोरठी, मारूनी, सालैजो, झाम्रे, खेली, लाखे, नौमती बाजा, ठाडे भाका, सिलोक आदि संस्कृति सबैले हेर्न र अध्ययन गर्न लायक छ्न् ।

विश्वको सबैभन्दा ठूलो शालिग्राम रहेको पवित्र तीर्थस्थल सेतीवेणी र रामनदी धाम यही नगरपालिकाको भूगोलभित्र पर्दछन् । दक्षिण दिशाबाट गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार रहेको रामनदी ९रामदी० यस नगरपालिकाको मुख्य धार्मिक स्थलका साथै धार्मिक पर्यटकीय स्थल पनि हो । त्यसैगरी कालीगण्डकीको उत्तर प्रवाह रहेको उत्तरवाहिनी, महालिङ्ग धाम, जगत्रदेवी मन्दिर, गहौँसुर मन्दिर लगायतका धार्मिक स्थलहरू र यहाँका प्राकृतिक छटाहरूले सुसज्जित हरेक डाँडापाखाहरू पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्तै आधारहरू रहेका छन् । यहाँका हरेक बस्तीहरूमा गुञ्जने गीत तथा नाचहरूले ग्रामीण पर्यटनलाई टेवा पुर्याउन सक्छन् । नगरपालिकाले यस्ता बस्तीहरूमा होमस्टेका माध्यमबाट आफ्ना नागरिकहरूलाई आत्मनिर्भरमात्र होइन अन्तनिर्भर समेत बनाउने योजनाहरू अघि सारेको छ ।

त्यसैगरी नगरपालिकाले कृषिका माध्यमबाट आत्मनिर्भर हुने अनेकौँ योजनाहरू अघि सारेको छ । अदुवा बाली, तरकारी खेती, मौरीपालन, बङ्गुरपालन, बाख्रापालन, गाई तथा भैँसी पालन जस्ता कृषि उत्पादनलाई प्रोत्साहित गर्दै आवश्यक सहयोग, अनुदान पनि प्रदान गर्दै आएको छ ।

.

गल्याङ नगरपालिकाभित्रको यस अध्ययनले एउटा गोरेटो तयार भएको विश्वास गरिएको छ । अनुसन्धान भन्ने कुरा कहिल्यै पूर्ण नहुने विषय हो । समय–समयमा यसको पुनरावृत्ति भैरहनु पर्दछ । जातजातिका जातीय संस्कार पनि परिमार्जन भैरहन्छन् । तिनको तुलनात्मक अध्ययन बेलाबेलामा भइरह्यो भनेमात्र यस्ता अध्ययनले अर्थ राख्दछ । यहाँका केही साँस्कृतिक सम्पदाहरू लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । यहाँका मगर जातिको सोरठी, मारुनी, गुरुङ जातिको घाटु, झोरा, ब्राह्मण, क्षेत्रीका भजन, ठकुरी, क्षेत्रीको खाँडो, महिलाहरूका मागल आदि सँस्कृतिलाई जगेर्ना गर्नका लागि आगामी दिनमा नगरपालिकाले एउटा वृहत् योजना बनाउनु पर्ने देखिएको छ । यी संस्कृतिलाई माध्यम बनाएर ठाउँठाउँमा होमस्टे सञ्चालन गरी आय आर्जनको बाटोमा गाउँलेहरूलाई सक्रिय बनाउन सकेमा नगरपालिकाका हरेक नागरिकले मीठो अनुभूति गर्न सक्नेछन् । उनीहरु आत्मनिर्भर र अन्तर्निभर समेत बन्न सक्नेछन् । यसबाट नगरपालिकाले देखेको समृद्ध गल्याङ नगरपालिकाको सपना पनि पूरा हुने सुझाव अनुसन्धानबाट प्राप्त भएको छ । अनुसन्धानको प्रतिवेदन र भिडियो डकुमेन्ट्री नगरपालिकालाई हस्तान्तरण गरिएको र यहाँका विद्यालयहरुमा उक्त डकमेन्ट्री प्रदर्शन गराउन सकेमा सबै विद्यार्थीहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको जानकारी अनुसन्धानकर्ता प्रभासले बताउनु भयो ।  

.

Facebook Comments Box
TOP