पार्टीभित्रकाे समस्या समाधान गर्न नेकपा सक्षम छ : मन्त्री अर्याल

padma aryal

ललितपुर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चलिरहेको समस्या समाधान गर्न कम्युनिस्ट पार्टी सक्षम रहेको बताउनुभएको छ । सत्तारुढ दल नेकपाभित्र चलिरहेको आन्तरिक विवादकाे सन्दर्भमा मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । 

९८ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औँ राष्ट्रिय सहकारी महासङ्घ दिवसकाे सन्दर्भमा शनिबार राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेकपा पार्टीले झनै उचाइ लिँदै गएकाेले अहिले नै कुनै दुर्घटना नहुने सङ्केत गर्नुभएको थियो । मन्त्री अर्यालले भन्नुभयो, ‘यो समस्याको समाधान गर्नकाे निम्ति कम्युनिस्ट पार्टी सक्षम छ, योग्य छ । विगतमा पनि यस्तो हुन्थ्यो । भएरै समाधान गर्दै, छलफल गर्दै यो उचाइमा आएको हो ।’ 

कम्युनिस्ट पार्टीले शिखर चुम्दै गएको भन्दै मन्त्री अर्यालले यसमा धेरै जनताहरुको त्याग, तपस्या, लगानी रहेको उल्लेख गर्नुभयो । जनभावना मर्ने गरी फरक दिशामा नेकपा जान नसक्ने भन्दै उहाँले विश्वास दिलाउनुभयो । 

कता-कता राजनीतिमा अनिष्ट हुने त होइन भन्ने कसैलाई लाग्न सकेको भए पनि अहिले नै त्यस्तो अवस्था आइनसकेको उहाँको भनाइ थियो । 

कम्युनिस्ट पार्टी गतिशील पार्टी भएको भन्दै उहाँले कम्युनिस्ट पार्टीमा विचारको बहस, आलोचना, आत्मालोचना स्वभाविक कुरा भएको भन्दै तर अस्वस्थ ढङ्गले भएको अवस्थामा भने सोच्नुपर्ने अवस्था आउने बताउनुभयो । कम्युनिस्ट पार्टीभित्र हुने स्वतन्त्रताको प्रयोगलाई कतै पार्टी गलत दिशामा त गइरहेको छैन भन्ने ढङ्गले सोच्नु नहुने मन्त्री अर्यालले बताउनुभयो । 

‘पार्टीका बैठकमा मनमा लागेका कुन नभन्ने हो भने कहाँ भन्ने हो ? त्यो स्वतन्त्रताको प्रयोग कम्युनिस्ट पार्टीमा आज भइरहेको छ । त्यसको आधारमा धेरै आशङ्का गरिरहनुपर्ने परिस्थिति छैन’, उहाँले भन्नुभयो । 

कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठकका एजेण्डा र चालु संसद्को अधिवेशनबीचमा कुनै सम्बन्ध नरहेको समेत मन्त्री अर्यालले बताउनुभयो । संसद् अधिवेशन बोलाउने र बन्द गर्ने कुरा सरकारको कुरा भएको भन्दै उहाँले संसद्को बिजनेस नभएका कारण चालु संसद् अधिवेशन बन्द गरिएको प्रस्ट्याउनुभयाे । मन्त्री अर्यालले भन्नुभयो, ‘हामीले बजेट ल्याउनुपर्ने थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनुपर्‍याे, बोलायौँ । बजेट पास भयो । केही-केही विधेयकहरु थिए, त्यो विधेयकमाथि छलफल गर्नुपर्ने थियो । सहमति जुट्यो ।’

संसद् भनेको रत्यौली खेल्नका निम्ति चलाइरहने संस्था नभएको भन्दै उहाँले संसद्को बिजनेस नभएका कारण बन्द गरिएको बताउनुभयो । ‘रत्यौली खेल्न संसद् चाहिएन, बिजनेस थिएन । सरकारले रोक्यो । कुनै कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक र यसको कहीँ मेल थिएन’, उहाँले भन्नुभयो । 

पार्टीभित्र नेताहरुका बीचमा छलफल, बहस, भनाभन हुने सामान्य कुरा भएको भन्दै उहाँले नेताहरु आपसमा बसेर निष्कर्ष निकालेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कुरा उठाउँदा खेरि दुनियाँले अस्वभाविक ठान्ने खालका विषयहरु नउठाइदिए हुन्थ्यो भन्ने तलका मान्छे सबैको कामना हुनेसमेत मन्त्री अर्यालले बताउनुभयो । 

सहकारीका सन्दर्भमा सम्भावित वित्तीय जोखिमलाई नियन्त्रण गर्न अहिले नै सचेत हुनुपर्ने बताउँदै सहकारीको सङ्ख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको बताउनुभयो । स्वनियमनका कार्यलाई पनि अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास कायम राख्न अहिलेदेखि नै सचेत रहनुपर्ने उहाँको भनाइ थियो । त्यसका निम्ति केन्द्रीय सहकारी सङ्घहरु बढी लाग्न मन्त्री अर्यालले आग्रह गर्नुभयो । 

केही कानुनहरु संशोधन गरेर जानुपर्ने भएकाले आजको आवश्यकतालाई पूर्ति गर्ने गरी ऐन संशोधन गर्न अगाडि बढिरहँदा पनि टुङ्ग्याउन नसकिएको मन्त्री अर्यालले बताउनुभयो । ‘तपाईँहरु एकमत भएर टुङ्ग्याइदिनुस् । मेरो विनम्रतापूर्वक आग्रह छ । डेढ वर्ष भयो टुङ्गिनै नसक्ने । यत्रो समयसम्म टुङ्गिनै नसक्ने शोभनीय कुरा होइन’, मन्त्री अर्यालले भन्नुभयो । 

Facebook Comments Box
TOP